एमालेमा फर्किए बडुवाल

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) पार्टी सुर्खेतका अध्यक्ष मोहन बडुवालसहितका नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले बुधवार अध्यक्ष बडुवालसहित ६० जना कार्यकर्तालाई एमाले प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गरेका कार्यकर्ताहरूलाई स्वागत गर्दै महासचिव पोखरेलले समाजवादीमा रहेका अन्य नेता–कार्यकर्तालाई पनि एमालेमा फर्किन आग्रह गरे । माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले देश र जनताका लागि केही गर्न नसक्ने भन्दै उनले कम्युनिष्ट विचारप्रति आस्थावान सबै एमालेमा गोलबद्ध हुनुपर्नेमा जोड दिए ।

बडुवाल यसअघि एमालेमै थिए । जिल्ला कमिटि सुर्खेतको सचिव भइसकेका उनी पार्टी विभाजनपछि भने समाजवादीतिर लागेका थिए । आफू निकटका कार्यकर्ताहरूसहित उनी पुनः एमालेमा फर्किएका हुन् ।

प्रकाशित मितिः   ७ भाद्र २०८०, बिहीबार ११:१२