पूर्वाधार छ, जनशक्ति छैनन्
सुर्खेत: स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप बर्सेनि बढ्दो छ । २५ शैड्ढयाबाट सुरु भएको अस्पतालको क्षमता ५० शैड्ढयामा पुगेको छ । सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकताअनुसार जनशक्तिको संख्या भने बढ्न सकेको छैन । अस्पतालले सेवा विस्तार गरेपनि सेवा दिन र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ ।
बिरामीको चाप र थपिएका सेवाको अनुपातमा कर्मचारीको दरबन्दी नबढ्दा अस्पताल सञ्चालनमा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारती बताउँछिन् । उनले भनिन्, ‘अस्पतालमा विभिन्न विभागहरू थपिँदै गयो । सेवाहरू बढ्दै गए । सरकारले कार्यक्रम दिन्छ । सेवाहरू बढाउनु भन्छ तर त्यो अनुसार कर्मचारीको दरबन्दी नै बढाउँदैन ।’
कर्मचारी अभाव हुँदा दैनिक रूपमा सेवा प्रवाह गर्न समेत हम्मेहम्मे भइरहेको भारतीको भनाइ छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्तरोन्नति गरेर ५० शैड्ढयाको बनाइएको हो । ५० शैड्ढयाको अस्पताल निर्माण भएपनि स्थायी कर्मचारीको दरबन्दी भने २५ शैड्ढया अनुसारको मात्र छ । कार्यालय सञ्चालनका लागि सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको भन्दै डा. भारतीले त्यसलाई सञ्चालन र व्यवस्थापनमा निकै सकस भइरहेको बताइन् । उनले भनिन्, ‘हेर्दा अस्पतालको ठूलो भवन देखिन्छ, सोहीअनुसार सेवा प्रवाह गर्न सकिएको छैन । पहिलो समस्या जनशक्ति अभाव भएपनि अस्पताल सञ्चालनका लागि चुनौती नै चुनौती रहेको छ ।’
कूल ६० जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा अहिले ३० जना मात्रै दरबन्दीमा कार्यरत रहेका छन् । ३० जनाको दरबन्दी रिक्त छ । बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा सञ्चालन भइरहेको छ । करारका कर्मचारी मात्र ५८ जना छन् भने कार्यालयमा स्थायी र करार गरी जम्मा ८८ जना कर्मचारी कार्यरत छन् । तर दरबन्दीअनुसार दक्ष जनशक्तिको अभाव कायमै छ ।
छैनन् विशेषज्ञ डाक्टर
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसारको एक जना पनि विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत छैनन् । उपचार गर्न आएका जटिल रोगका बिरामी उपचार नपाएर घर फर्कन्छन् । आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन नसकेको प्रमुख डा. प्रतिक्षा भारतीले बताइन् । उनले भनिन्, ‘आधा दरबन्दी रिक्त छ । अस्पतालको नयाँ भवन बनेको छ, सेवा थपिएका छन् तर जनशक्ति पहिलेको भन्दा पनि कम छ ।’ अस्पतालमा मेडिकल अधिकृत पदमा पाँच जनाको दरबन्दी रहेकोमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् । तीन जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृत्ति करार र करार दरबन्दीका रहेका कार्यालय प्रमुख डा. प्रतिक्षा भारतीले बताइन् ।
भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न भएपनि जाजरकोट अस्पतालमा जनशक्तिसँगै औषधिको पनि अभाव हुने गरेको छ । विभिन्न रोगका बिरामीहरू ठूलो संख्यामा आउने गरेका छन् । दैनिक एक सयभन्दा बढी बिरामी सेवाका लागि अस्पतालमा पुग्छन् । सरकारले जाजरकोट अस्पताललाई ५० शैड्ढयामा स्तरोन्नति गरेपनि विशेषज्ञ जनशक्ति र पर्याप्त औषधिको व्यवस्था गर्न नसक्दा अस्पताल नै बिरामी अवस्थामा पुगेको अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
प्रकाशित मितिः ७ भाद्र २०८०, बिहीबार ११:११
रजनी याेगी ।