औषधि खरिदमा ढिलाई

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि छैन । निःशुल्क उपलब्ध गराउनुपर्ने औषधिको अभाव सिर्जना भइसक्दा पनि खरिद प्रक्रियामा भने ढिलाइ भइरहेको छ । स्थानीय तहहरूले चालु आर्थिक वर्षका लागि औषधि खरिद प्रक्रिया थालेका छैनन् । गत वर्ष खरिद गरेको औषधिले अहिलेसम्म धानिरहेको भएपनि पछिल्लो समय अभाव देखिन थालेको छ । यद्यपि, स्थानीय सरकार भने यसतर्फ गम्भिर भएका छैनन् । औषधि खरिदमा बेवास्ता गरिरहेका स्थानीय पालिकाले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन समेत लापरबाही गरेका छन् । एकातिर औषधि खरिदका लागि छुट्याइएको बजेट नै न्यून छ, अर्कोतर्फ खरिद प्रक्रिया पनि केही लामो हुँदा समस्या भएको हो ।

स्वास्थ्य संस्थाहरूमा तीन तहका सरकारले गरी ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएका छन् । त्यसमध्ये प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका दश वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको हो । केन्द्रले यो वर्षका लागि खरिद गर्नुपर्ने औषधिको विवरण संकलन गरिरहेको छ । प्रदेशका आठ जिल्लामा जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत् र सुर्खेत र जुम्ला जिल्लामा जनस्वास्थ्य सेवा कार्यालयहरूमार्फत् विवरण माग गरेको हो । अहिलेसम्म सात वटा जिल्लाको विवरण प्राप्त भएको प्रदेश आपूर्ति केन्द्रले जनाएको छ । जिल्ला–जिल्लाबाट माग भएको औषधिको विवरणका आधारमा खरिद प्रक्रिया सुरु गरिने छ । केन्द्रले टेण्डरमार्फत् औषधि खरिद गर्नेछ । आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य सेवा कार्यालयहरूमा खरिद गरिएको औषधि पठाउने गरेको छ । जिल्लास्थित ती कार्यालयले पालिका र पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रमा औषधि उपलब्ध गराउँदै आएका छन् ।

चालु आर्थिक वर्षमा औषधि खरिदका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले एक करोड ८० लाख ५० हजार बजेट आपूर्ति केन्द्रमा पठाएको छ । गत वर्ष दुवै तहका सरकारको गरी औषधि आपूर्तिका लागि पाँच करोडभन्दा बढी विभिन्न शीर्षकगत रूपमा बजेट विनियोजन गरिएको थियो । चालु वर्षमा औषधि खरिदका लागि बजेट पर्याप्त छैन । गतवर्ष भन्दा औषधि खरिदका लागि बजेट घटेर आएको छ । गत आर्थिक वर्षदेखि तीन तहका सरकारले छुुट्टाछुुट्टै रूपमा खरिद ऐनमा रहेर औषधि खरिद गर्ने गरेका हुन् । सोहीअनुुरूप पालिका र प्रदेशलाई संघीय सरकारले बजेट पठाउने गरेको छ । तर, उक्त बजेट न्यून हुँदा आवश्यक औषधि खरिदमा अपुग हुने देखिन्छ । यसतर्फ पनि ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   ६ भाद्र २०८०, बुधबार १४:०८