मुख्यमन्त्रीलाई ध्यानाकर्षण

सुर्खेत: विभिन्न मागसहित राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ध्यानाकर्षण गराएको छ । प्रदेशको समृद्धि र नागरिकको जीवनस्तर सुधारका लागि भन्दै जनमोर्चाको कर्णाली प्रदेशले ध्यानाकर्षणपत्र बुझाएको हो ।

वास्तविक भूमिहिन तथा सुकुम्बासीको पहिचान गरी पहिचानका आधारमा सेवा सुविधा उपलब्ध गराइनु पर्ने, राप्ती बसोबासद्वारा नाँपजाँच गरी सेतोपुर्जा प्राप्त गरेका किसानहरूलाई तत्काल प्रक्रियामा ल्याई रातो पुर्जा वितरणतर्फ ध्यान दिइनुपर्ने, भू–उपयोगको नीति अनुरूप बाँझो रहेको जमिनको सम्भाव्यता अध्ययन गरी फलफूल खेती, पशुपालन तथा जडिबुटी खेतीजस्ता कार्यहरू सञ्चालनमा ल्याई रोजगारी सिर्जना गराइनु पर्नेलगायतका माग राखिएको छ ।

त्यसैगरी सुर्खेतका बाढी पीडितहरूको समस्या समाधान गर्नुपर्ने, कर्णाली राजमार्ग, कर्णाली करीडोरलगायतका मुख्य सडकहरूको स्तरोन्नति गर्नुपर्ने, सडक संजालमा नजोडिएका जिल्ला र स्थानीय तहरूमा तत्काल सडक संजालले जोड्न पहल गर्नुपर्ने, सुर्खेत–दैलेख, दैलेख–महाबु हुँदै पाद्मघाट जोड्ने सडक निर्माण गर्नुपर्ने मागसमेत ध्यानाकर्षणपत्रमा समेटिएको छ ।

यसबाहेक पनि पर्यटन प्रवद्र्धन, महँगी र भ्रष्टाचार नियन्त्रण, कृषकलाई समयमै मल र बिऊ उपलब्ध गराउनुपर्ने, माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनीसँगको सम्झौता खारेज गरेर नेपाली लगानीमा नै सञ्चालन गर्नुपर्नेसहितका माग जनमोर्चाले मुख्यमन्त्री शर्मासमक्ष राखेको छ ।

प्रकाशित मितिः   ६ भाद्र २०८०, बुधबार १४:१०