विशेषज्ञ डाक्टरविहीन जिल्ला अस्पताल
सुर्खेत: स्वास्थ्य सेवा कार्यालय दैलेखमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर अहिले ४० जना मात्रै कार्यरत छन्, २१ जनाको दरबन्दी रिक्त छ । त्यसैगरी नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । जिल्लास्थित प्रमुख स्वास्थ्य संस्था (अस्पताल) रहेको कार्यालयले वर्षौदेखि जनशक्ति अभाव झेलिरहेको हो ।
आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको कार्यालयका प्रमुख डा. धर्मराज रेग्मीले बताए । ‘जनशक्ति नै कम छ’ उनले भने, ‘कुनै बेला कसैले बिदामा बसिदियो भने आवश्यक पर्ने सेवा दिन कठिन हुने गरेको छ ।’ स्थायी दरबन्दीमा पदपूर्ति नभएपछि करारमा कर्मचारी नियुक्त गरिएको छ । करार कर्मचारीको संख्या भने स्थायीको भन्दा धेरै छ । रेग्मीका अनुसार स्थायी ४० जना र करार सेवाका ५६ जना कर्मचारी छन् ।
विशेष स्वास्थ्य सेवा दिन भने दक्ष जनशक्तिको अपुग छ । हाल अक्सिजन प्लान्ट, विशेषज्ञ सेवा, ओटी सेवाजस्ता सम्पूर्ण सेवाका लागि जनशक्ति अभाव देखिएको हो । कार्यालयबाट विशेषज्ञ सेवा ठप्पजस्तै छ । जनशक्ति अभावले अप्रेसन, पोष्टमार्टम, शल्यक्रियालगायतको सेवामा असर पुगेको छ । त्यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि जनशक्ति अभावै रहेको छ ।
आइसियु र भेन्टिलेटर प्रयोगविहीन
कार्यालयमा चार वर्ष अघि खरिद गरिएको आइसियु र भेन्टिलेटर हालसम्म प्रयोगमा आएका छैनन् । अहिलेको जनशक्तिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने अवस्था नरहेको कार्यालय प्रमुख डा. रेग्मी बताउँछन् । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु र भेन्टिलेटरको सेवा दिनसमेत नसकिएको उनले जनाए ।
कोरोना संक्रमण फैलिएको समयमा जटिल खालका बिरामीहरूको उपचार गर्ने भन्दै अस्पतालमा आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो । तर हालसम्म पनि आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेका छैनन्, प्रयोग नभएर थन्क्याइएको छ । कार्यालयका प्रमुख रेग्मीले भइरहेको जनशक्तिले आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने जानकारी दिए । उनले भने, ‘स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारमा आउने अधिकांश बिरामीहरू श्वासप्रश्वासको समस्याका हुन्छन्, हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौं, तर बचाउन निकै समस्या छ ।’ बरु जटिल समस्या देखिएका बिरामीलाई उपचारका लागि बाह्य जिल्लामा जानुपर्ने बाध्यता छ ।
जनशक्तिको अभाव कतिसम्म छ भने अस्पताल हाल कार्यरत रहेका नौ जना मेडिकल अधिकृत (डाक्टर) मध्ये दुई जना मात्रै स्थायी रहेका छन् । अन्य सात जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृद्धि करार र दरबन्दी करारका रहेको प्रमुख डा. रेग्मीले बताए ।
पूर्वाधारको पनि अभाव
एकातिर जनशक्ति अभावका कारण समस्या झेलिरहेको अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । भवनकै समस्या छ । वि.सं. २०४५ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । सेवाग्राहीको चाप हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालय प्रमुख डा. रेग्मी बताउँछन् ।
पछिल्लो समय बिरामीको चाप पनि बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीको चाप बढेको छ । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको रेग्मीले जनाए । नयाँ भौतिक संरचना थप्नुपर्नेमा ३५ वर्ष पूरानो कार्यालयबाटै सेवा दिनु आफैमा मुस्किल भएको उनले बताए । ‘पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको संख्या बढ्दो छ, अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको संरचना उस्तै छ, यसबाट सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ’ रेग्मीले भने ।
अस्पतालमा दैनिक सरदर दुई सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ । १५ शैड्ढयाको अस्पताललाई स्तरोन्नति गर्ने योजना भने अघि सारिएको छ । ५० शैड्ढयाको बनाउने गरी तीन वटा भवन निर्माणको क्रममा रहेका छन् ।
प्रकाशित मितिः ६ भाद्र २०८०, बुधबार १४:१४
रजनी याेगी ।