दुई हजार भूमिहीनलाई लालपुर्जा


सुर्खेत:
भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले जग्गाधनी पुर्जा (लालपुर्जा) वितरणलाई तीव्र पारेको छ । काम सुरु गरेको डेढ वर्षमा दुई हजार घरपरिवारलाई स्थायी पुर्जा वितरण गरिएको आयोगको सुर्खेत समितिका सदस्य सचिव राजेन्द्र थापाले जानकारी दिए । तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।

हालसम्म जिल्लाका पाँच वटा स्थानीय तहका गरी जम्मा दुई हजार घरपरिवारलाई पुर्जा वितरण गरिएको थापाले जानकारी दिए । उनका अनुसार पश्चिम सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने तथा पूर्वका गुर्भाकोट र भेरीगंगाकाका केही परिवारलाई पुर्जा प्रदान गरिएको छ । पछिल्लो पटक भदौ २ गते पञ्चपुरी नगरपालिका वडा नं. ५ का तीन सय २७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भदौ २ मा नै बराहताल गाउँपालिका वडा नं. ५ का एक सय ५० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । उक्त वडामा एक सय ७४ वटा जग्गाधनी प्रमाणपुर्जा तयार भएपनि एक सय ५० जनालाई मात्र वितरण गरिएको थापाले बताए । उनले भने, ‘विविध कारणले उहाँहरू जग्गाधनी पुर्जा लिन नआएकाले छुट्नु भएको हो ।’

पालिकाको निर्णय र भूमि आयोग जिल्ला समितिको समन्वयमा ती पालिकाका केही वडाहरूमा मात्रै पुर्जा वितरण गरिएको छ । प्रक्रिया पूरा गरेर अन्यलाई पनि चाँडै वितरण गर्ने तयारीमा आयोग रहेको छ । थापाका अनुसार चौकुने गाउँपालिका, गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिकामा थप पुर्जा प्रदानका लागि अन्तिम चरणको काम भइरहेको छ । प्रक्रिया पूरा भएपछि अबको केही दिन भित्रमा पुर्जा वितरण गरिने छ ।

 

जिल्लाका दुई पालिकामा भने पूर्जा वितरण सुरु नै हुन सकेको छैन । सिम्ता र चिङ्गाड गाउँपालिकामा हालसम्म भूमि आयोगको कुनै पनि काम सुरु गरेको छैन । सम्बन्धित पालिकाले चासो नदेखाएकाले काम अघि बढ्न नसकेको आयोगले जनाएको छ । लेकवेशी नगरपालिकाले हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित गर्ने तयारी गरेको छ । चौकुने गाउँपालिका वडा नं.७ र ८ का दुई सय ६८ घरपरिवारको हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित भइसकेको छ । बाँकी पाँच सय ३२ जनाको हकदाबीसम्बन्धी सूचना निकाल्ने तयारीमा रहेको बताइएको छ । चौकुने गाउँपालिकामा तत्कालै पुर्जा वितरण गरिनेछ ।
यसैगरी पञ्चपुरी नगरपालिका वडा नं. ५ र ६ वडामा गरी पाँच सय २३ घरपरिवारलाई पुर्जा वितरण गरिएको छ । उनीहरूको श्रेस्तापुर्जा मालपोत कार्यालयमा र बिलबुक र नक्सा नापी कार्यालयमा हस्तारन्तरण गर्ने तयारीमा रहेको जनाइएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १६ मा जग्गा नापजाँच र फाइल तयार गर्ने प्रक्रियाको काम भइरहेको छ । यसैगरी नगरपालिकाको वडा नं. ९ मा बाँकी रहेका अधुरा कामको फाइल तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । वडाबाट फाइल तयार गरी कार्यपालिकामा पेस गरेर कार्यपालिकाले भूमि आयोगमा पठाउनेछ । आयोगले प्राविधिक परिचालन गरी फिल्ड अनुगमन गरेपश्चात् सात दिने सूचना जारी भएपछि पुर्जा वितरण हुने जनाइएको छ ।

चौकुने, पञ्चपुरी, बराहताल, भेरीगंगा, र गुर्भाकोटका बाँकी भूमिहीनका साथै वीरेन्द्रनगर र लेकेवेशीका स्थानीय तहमा यसअघि अधुरा रहेका कामको फाइल तयार तथा यथार्थ विवरण संकलनको काम भइरहेको भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए ।

अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुम्वासी र यसअघि अँधुरा छोडेका कार्यहरू अहिले आयोगको जिल्ला समितिले गरिरहेको छ । नापजाँच भएर अँधुरा रहेका जग्गाको लालपुर्जा वितरणको काम भइरहेको हो । अधुरा रहेका काम सकेर अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपुर्जा दिने कार्यको सुरुवात गर्ने तयारी आयोगले गरेको छ । उक्त काम भने वीरेन्द्रनगरबाट सुरु गरिएको छ । अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपुर्जा दिने प्रक्रियाको सुरुवात वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ बाट अघि बढाइएको हो । सुर्खेतमा सबैभन्दा बढी अव्यवस्थित बसोबासको समस्या छ ।

केही परिवारले जग्गाको पुर्जा पाएपनि सुर्खेतमा अझै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संख्या ठूलो छ । अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्वासीका गरी झन्डै ४८ हजार निवेदन संकलन भएका थिए । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा गरेको लगत संकलनको क्रममा उक्त संख्यामा निवेदन परेका हुन् । तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका छन् । पहिलो चरणमा नापजाँच भएर बाँकी रहेका जग्गाको लालपुर्जा वितरण भइरहेको आयोगका अध्यक्ष पौड्यालले जानकारी दिए । अब अव्यस्थित बसोबासको पूर्जा वितरणको कामको पनि सुरुवात गरिने बताइएको छ । लामो समयदेखि अलपत्र पुर्जा वितरणको कामले अहिले भने गति पाएको छ ।

प्रकाशित मितिः   ४ भाद्र २०८०, सोमबार ०५:०५