सडक सुधार गर

पश्चिम सुर्खेतका सडकको दुरावस्थामा सुधार हुन सकेको छैन । यद्यपि, पछिल्लो समय सुधार र स्तरोन्नतिका लागि काम भने भइरहेका छन् । सडक कमजोर भएपनि अधिकांश ठाउँसम्म यातायातका साधन भने पुग्दै आएका छन् । कच्ची सडकमै भएपनि सवारी साधन सञ्चालनमा छन् । सास्ती खेपेरै पनि नागरिकले केही हदसम्म यातायातको सुविधा पाएका छन् । तर पछिल्लो डेढ महिनायता पश्चिम सुर्खेतको चौकुनेसम्म यात्रुबाहक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडक जीर्ण भएको भन्दै व्यवसायीले सवारी साधन सञ्चालन नै रोकेका छन् । पञ्चपुरी नगरपालिकाको विद्यापुरदेखि चौकुने गाउँपालिकासम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो । सवारी साधन ठप्प भएपछि नागरिकलाई सदरमुकाम आउ–जाउमा समस्या भएको छ ।

चौकुनेका नागरिकहरू घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ज्येष्ठ, नागरिक, गर्भवती महिला र राजधानी वीरेन्द्रनगरमा आउने विद्यार्थीलगायत सबैलाई निकै समस्या भइरहेको छ । लामो समयसम्म सार्वजनिक सवारी सञ्चालनमा नआएपछि गाउँपालिकाले विरोधस्वरूप सामग्री बोक्ने टिप्परमा यात्रु बोक्न सुरु ग¥यो । पालिकाले शनिवार चौकुनेदेखि वीरेन्द्रनगरसम्म आउने नागरिकका लागि ढुङ्गा, गिट्टी, बालुवा बोक्ने टिप्परको व्यवस्थापन गरेको हो । पालिकाले टिपरमा आफ्ना नागरिकलाई प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म ल्याउने र लैजाने ग¥यो । नियमतः मालबाहक सवारी साधनमा यात्रु बोक्नु गलत हो । त्यसमाथि टिप्पर भरेर यात्रु ओसार्दा उत्तिकै जोखिमपूर्ण हुन्छ । यद्यपि तत्कालका लागि नागरिकलाई सेवा दिन र व्यवसायीको सिन्डिकेटविरुद्ध यस्तो कदम चाल्नुपरेको गाउँपालिकाको भनाइ छ । यो विरोधको एक शैली अवश्य हो । तर सार्वजनिक यातायात सञ्चालनमा देखिएको समस्या समाधानको उचित विकल्प खोज्न आवश्यक छ ।

पश्चिम सुर्खेतका सडक सुविधायुक्त छैनन् । यो समस्या तत्काल सिर्जना भएको होइन, विगतदेखिकै हो । अहिलेको भन्दा कमजोर अवस्थामा समेत व्यवसायीले यातायातका साधन सञ्चालनमा ल्याएका थिए । त्यसआधारमा हेर्दा अहिलेको सडक सवारी साधन सञ्चालन गर्नै नमिल्ने अवस्थामा समेत छैनन् । वर्षात् र सडक निर्माणको क्रममा केही समस्या र अप्ठ्यारा भने देखिएका छन् । त्यसलाई व्यवस्थापन गर्दै यातायात सहज बनाउन आवश्यक छ । सँगसँगै मदन भण्डारी राजमार्गअन्तर्गतको उक्त सडक स्तरोन्नतिको काममा समेत निकै ढिलाइ भइरहेको छ । तीन खण्डमध्ये दुई वटा खण्डमा काम सुरु भएर पनि गति सुस्त छ भने एउटा खण्डमा सम्झौता नै भएको छैन । यो लापरबाही अन्त्य गर्दै निर्वारित समयमै आयोजना सम्पन्न गर्ने र पश्चिम सुर्खेतको यातायातको पहुँचलाई सहज बनाउनेतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   २२ श्रावण २०८०, सोमबार ०५:०३