बालुवा बोक्ने टिप्परमा मान्छे ओसार्दै पालिका
सुर्खेत: पछिल्लो तीन सातादेखि पश्चिम सुर्खेतको चौकुनेसम्म यात्रुबाहक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडक जीर्ण भएको भन्दै व्यवसायीले सवारी साधन सञ्चालन नै रोकेका छन् ।
सवारी साधन ठप्प भएपछि सामग्री बोक्ने टिप्परमा यात्रु बोक्न थालिएको छ । चौकुने गाउँपालिकाले शनिवारदेखि टिप्परमा यात्रु ओसार्न थालेको हो । गाउँपालिकाले चौकुनेदेखि वीरेन्द्रनगरसम्म आउने नागरिकका लागि ढुङ्गा, गिट्टी, बालुवा बोक्ने टिप्परको व्यवस्थापन गरेको हो । पालिकाले टिपरमा आफ्ना नागरिकलाई प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म ल्याइरहेको छ । पटक–पटक आग्रह गर्दापनि व्यवसायीले गाडी नचलाएपछि गाउँपालिकाले टिपरबाटै सेवा सुरु गरेको पालिका अध्यक्ष खड्क विकले बताए । पालिकाका नागरिकलाई गन्तव्यसम्म पु¥याउनका लागि टिपर सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै उनले अति भएर यो कदम चालिएको जानकारी दिए । ‘चौकुने गाउँपालिका नै सिन्डिकेट लगाउने यातायातविरुद्ध उत्रिएको छ’ उनले भने, ‘बाटोको अवस्था राम्रै छ । अन्य सवारी साधन चलिरहेका छन्, गाडी नचल्नुको कारण पत्ता लाग्न सकेन ।’ गाउँपालिकाले शनिवारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेको टिपरमा संयुक्त यातायातका ज्यादतीविरुद्ध नारासमेत उल्लेख गरेको छ । बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन बाध्य भएको विकले जानकारी दिए ।
चौकुनेका नागरिकहरू घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ज्येष्ठ, नागरिक, गर्भवती महिला र राजधानी वीरेन्द्रनगरमा आउने विद्यार्थीलगायत सबैलाई निकै समस्या भइरहेको छ । उनले भने, ‘यातायात सञ्चालनका लागि पटक–पटक आग्रह र पहल गर्दा पनि गाडी नपुगेपछि गाउँपालिकाले शनिवारदेखि पालिकामा भएका दुई वटा टिपरबाट यात्रु सेवा प्रदान गरेको हो ।’ अध्यक्ष विकका अनुसार पालिकाले सुरुमा भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा उपलब्ध गराएको छ । ‘बाटो पनि राम्रो छ । बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छौँ भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन । केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्,’ उनले भने । यातायातको व्यवस्था नभएसम्म नागरिकलाई निःशुल्क टिपर सेवा र त्यसमा लाग्ने तेल खर्च पालिकाले नै गर्ने भएको छ । यद्यपि, टिप्परमा यात्रु ओसार्नु जोखिमपूर्ण हो । यसको आलोचनासमेत भइरहेको छ ।
आइतवार सर्वदलीय बैठक
पश्चिममा यातायात सञ्चालनका सम्बन्धमा आइतवार सर्वदलीय बैठक बस्दै छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आइतवार सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार साउन १० गते पनि यसै विषयमा सर्वदलीय बैठक बसेको थियो । उनले भने, ‘त्यसबेला पश्चिमको गुटुसम्म यातायात सञ्चालन गर्ने, वर्षा रोकिएपछि अन्य स्थानमा पनि यातायात सञ्चालन गर्ने सहमति भएको हो । पालिकाले किन बिचमा टिपरमा नागरिक ओसारेको कुनै जानकारी भएन ।’
तत्काल यातायात व्यवसायीले सेवा दिन तयार नरहेकाले गुटुसम्म सेवा दिने सहमति अघिल्लो बैठकमा भएको उनले जानकारी दिए । सापकोटाले भने, ‘साउन १० गते गुटुसम्म मात्र सवारी चलाउने भनेर निर्णय नै भएको छ । तत्काल निकास निकाल्नका लागि भोलि बैठक बोलाइएको छ ।’ बाढी–पहिरो, जमिन गलेको अवस्थामा यातायात व्यवस्था विभागले स्वीकृति दिँदैन त्यसैले सडकको अवस्थाअनुसार समस्या समाधान गर्न के गर्ने भन्ने विषयमा छलफल राखिएको उनले जानकारी दिए । चौकुने गाउँपालिकाका अध्यक्षयलाई समेत जोखिम नमोल्न आग्रह गरिएको समेत उनको भनाइ छ ।
प्रकाशित मितिः २१ श्रावण २०८०, आईतवार ०५:०५
साझा बिसौनी ।