सतर्कतामा जोड

सुर्खेतमा आँखा पाक्ने रोग फैलिएको छ । विशेष गरेर साना बालबालिकामा संक्रमण देखिन थालेको छ । प्रायः वर्षायाममा देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) यहाँ एकपछि अर्कोमा देखिँदै गएको हो । केही दिनयता सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा यो रोग तीव्र रूपमा फैलिरहेको छ । विद्यालयका बालबालिका, शिक्षक, कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने व्यक्तिमा बढी देखिएको छ । अन्य सर्वसाधारण नागरिक पनि संक्रमित भइरहेका छन् । विद्यार्थीमा रोगको प्रकोप बढी देखिएको हो । संक्रमण बढ्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ । आँखा पाक्ने रोगबाट विद्यार्थी, शिक्षक र कर्मचारीसमेत संक्रमित छन् । रोगको लक्षण देखिएपछि एउटै कतिपय विद्यालयबाट दैनिक ५०÷६० बालबालिका विद्यालयबाट घर फर्किने गरेका छन् ।

आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षकसमेत संक्रमित भएकाले पठनपाठनमा असहज भइरहेको छ । अनुपस्थित हुने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । अस्पतालहरूमा आँखा पाकेका बिरामीको भीड बढेको छ । सुर्खेत आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय अत्याधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित पाइएका छन् । दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेका छन् । अस्पताल आएका बिरामीमध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ । संक्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने गरेको छ । सिजनल भाइरल इन्फेक्सन भाइरल कन्जंक्टिभाइटिसका कारण आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखा परेका छन् । अहिले सुर्खेत आँखा अस्पतालमा अन्य बिरामीभन्दा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेका छन् ।

संक्रमण फैलिँदै गएकाले सजकता अपनाउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । ‘भाइरल फ्लू’ का कारण आँखा पाक्ने रोग फैलिएको भएपनि उपचारपछि एक साताभित्रमा रोग निको हुने गरेको छ । आँखा रातो हुने, कचेरा लाग्ने, बिझाउने, आँसु बग्ने, डिल सुन्निने, थोरैमा ज्वरो आउने र घाँटी दुख्ने लक्षण देखिन्छन् । यो रोग एक हप्तामा निको हुनेभएकाले आँखा सफा राख्न, उमालेर चिसिएको कपास वा टिसु पेपरले पुछ्न, चिसोले आँखा सेक्न र औषधी खान विशेषज्ञहरूले सुझाव दिने गरेका छन् । यद्यपि, आँखा छुनु अघि र पछि सावुनपानीले हात धुने र पर्याप्त मात्रामा आराम गर्नुपर्ने हुन्छ । हरेक व्यक्तिले सावधानी अपनाएमा संक्रमण फैलिनबाट जोगिन्छ । त्यसैले अहिले संक्रामक रोगको रूपमा फैलिइरहेको आँखा पाक्ने रोगका बारेमा सबैले जानकारी लिएर सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मितिः   २१ श्रावण २०८०, आईतवार ०५:०३