सडक विस्तारमा ढिलाइ
विकासमा पछि परेको पश्चिम सुर्खेतमा सडकको सहज पहुँच छैन । भएका सडक पनि जीर्ण छन् । वर्षातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् । पश्चिमका तीन वटा पालिका जोड्ने सडक नै स्तरोन्नति हुन सकेको छैन । मदन भण्डारी राजमार्गअन्तर्गत समावेश भएपछि भने स्तरोन्नतिको काम अघि बढेको छ । तर योजना निकै सुस्त गतिमा छ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डमा काम भइरहेको छ । यो सडक हुँदै दैनिक ठूलो संख्यामा मालबाहक, यात्रुबाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । त्यही सडक बिचका खाल्डाखुल्डी र किनारमा थुपारीएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको छ । एकातिर सडक नै जीर्ण अवस्थामा छ, त्यसमाथि निर्माणमा भएको ढिलाइले समस्या निम्त्याएको देखिन्छ । सडकको दुरावस्थाकै कारण दिनहुँ दुर्घटना हुने गरेको छ । ठाँउठाँउमा सडक भत्काएर अलपत्र छाड्दा सवारी सञ्चालनमै कठिनाइ भइरहेको छ । पैदल यात्रीलाई समेत आवतजावत गर्न समस्या भइरहेको गुनासो स्थानीयको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डमा काम सुरु भएको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्नेगरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको हो । जसमध्ये दुई वटामा निर्माण सम्झौता भइ काम सुरु भएको भएको छ । विद्यापुर–बल्दे सडक खण्डमा अहिले नाला र वाल निर्माणको काम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । तर उक्त खण्डमा हालसम्म दश प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको काम भने रोकिएको छ । १२ किलोमिटर दुरीको यो खण्डमा आउँदो भदौसम्मका लागि काम स्थगित गरिएको हो । २०७९ देखि निर्माण सुरु गरिएको हो । सम्झौताअनुसार २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत १० किलोमिटरको खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । यसरी विभिन्न कारण देखाउँदै निर्माणमा लापरबाही हुँदा पश्चिम सुर्खेतका नगारिकले सास्ती बेहोर्नुपरिरहेको छ ।
प्रकाशित मितिः १९ श्रावण २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।