फैलिँदै आँखा पाक्ने रोग

विद्यालयमा विद्यार्थी घटे, अस्पतालमा बिरामीको चाप


सुर्खेत: 
सुर्खेतमा आँखा पाक्ने रोग फैलिएको छ । विशेष गरेर साना बालबालिकामा संक्रमण देखिन थालेको छ । विद्यार्थीमा यो रोगको प्रकोप बढी देखिएको हो । संक्रमण बढ्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘आँखा पाक्ने रोगबाट विद्यार्थी, शिक्षक र कर्मचारीसमेत संक्रमित छन्, प्रकोप बढिरहेको छ’ उनले भने, ‘रोगको लक्षण देखिने बित्तिकै बालबालिकालाई घरमा पठाउँछौँ, दैनिक ५०÷६० बालबालिका घर फर्कन्छन् ।’

श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा पनि विद्यार्थीहरूको आँखा पाक्ने रोगको प्रकोप बढेको छ । प्रधानाध्यापक लोकबहादुर खत्रीले आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षकसमेत संक्रमित भएकाले पठनपाठनमा असहज भइरहेको जनाए । उनकाअनुसार दैनिक करिब ६० जना बालबालिका अनुपस्थित हुने गरेका छन् । लक्षण देखिएका ४० जनाको हाराहारीमा विद्यार्थी विद्यालयबाट घर फर्किने गरेका छन् । विद्यार्थीमा आँखाबाट आँशु बग्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको छ । उनले भने, ‘सावधानी पनि अपनाएका छौँ । यस रोगबाट बच्न प्रत्येक शिक्षकले कक्षा–कक्षामा सचेत गराउनुहुन्छ ।’ विद्यालयमा विद्यार्थीको संख्या पातलिँदै गएको उनको भनाइ छ ।

आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिँदा पठनपाठनमा समस्या भइरहेको एनप्याब्सन वीरेन्द्रनगर नगरपकालिकाका अध्यक्ष ध्रुवसिंह ठकुरीले बताए । विद्यालयहरूलाई सावधानी अपनाउन आग्रह गरिएको उनको भनाइ छ । संक्रमित बालबालिकालाई घरमै आराम गर्न लगाउने, सावुनपानीले हात धुने, चस्माको प्रयोग गर्ने लगायतका सावधानी अपनाएर पठनपाठन गरिएको उनले बताए । यस रोगबाट बच्न के गर्न सकिन्छ भनेर वीरेन्द्रनगर नगरपालिकासँग थप छलफल गरिने उनको भनाइ छ ।

प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष होमलाल भट्टराईले संक्रमण धेरै फैलिएकाले विद्यालय बन्द गर्नुपर्ने विषयमा नगरपालिकासँग छलफल गरिने बताए । विद्यार्थी र शिक्षक यो रोगबाट संक्रमित हुने क्रम बढेकाले अहिले विद्यालयहरूलाई सावधानी अपनाएर पठनपाठन सञ्चालन गर्न भनिएको उनको भनाइ छ ।

आँखा अस्पतालमा बिरामीको चाप

अस्पतालहरूमा आँखा पाकेका बिरामीको भीड बढेको छ । सुर्खेत आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय अत्याधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित पाइएका छन् । अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. मञ्जु पन्तले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताइन् । अस्पताल आएका बिरामीमध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ । अन्य बिरामी २० प्रतिशत मात्र रहेको भन्दै डा. पन्तले एक व्यक्तिबाट धेरैमा यो रोग सर्ने गरेको बताइन् ।

संक्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने गरेको छ । उनले भनिन्, ‘सिजनल भाइरल इन्फेक्सन भाइरल कन्जंक्टिभाइटिसका कारण आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखा परेका छन् ।’ अस्पतालमा दैनिक आउने आँखाका सात सय बिरामीमध्ये पाँच सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि आउने गरेका छन् । अहिले सुर्खेत आँखा अस्पतालमा मात्र अन्य बिरामीभन्दा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको डा. पन्तको भनाइ छ । ‘भाइरल फ्लू’ का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले बताइन् । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, बिझाउने, आँसु बग्ने, डिल सुन्निने, थोरैमा ज्वरो आउने र घाँटी दुख्ने लक्षण देखिन्छन् । यो रोग एक हप्तामा निको हुनेभएकाले आँखा सफा राख्न, उमालेर चिसिएको कपास वा टिसु पेपरले पुछ्न, चिसोले आँखा सेक्न, चिकित्सकको सुझाव अनुसार औषधी खान उनको सुझाव छ । आँखा छुनु अघि र पछि सावुनपानीले हात धुने र पर्याप्त मात्रामा आराम गर्नुपर्ने उनले बताइन् ।

प्रकाशित मितिः   १९ श्रावण २०८०, शुक्रबार ०५:०५