युवालाई उत्प्रेरणा
कर्णाली प्रदेशमा बेरोजगार युवाहरूको संख्या ठूलो छ । रोजगारीको खोजीमा कैयन् युवा विदेशीयका छन् । विदेशमा गएर कठोर श्रम गर्न बाध्य भएका छन् । यद्यपि, कैयन् यस्ता युवाहरू पनि छन्, जो स्वदेशमै स्वरोजगार बनेर बसिरहेका छन् । विदेश गएर समेत फर्किएर आफ्नै ठाउँमा उद्यम गर्नेहरूको संख्या पनि बढ्दैछ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा युवा हेमराज रेग्मी पनि त्यस्तै एक उदाहरण हुन् । पाँच वर्ष मलेसिया बसेर फर्किएका उनी अहिले भैसीपालन व्यवसाय गरेर आत्मनिर्भर बनेका छन् ।
विदेशमा उनको आम्दानी राम्रै थियो । मासिकरूपमा एक लाखभन्दा बढी कमाउथे । तर उनी परदेशमा रमाउन सकेनन् । स्वदेश फर्किए । स्वदेश फर्किएको करिब दुई वर्ष भयो । २०७३ मा मलेसिया पुगेर २०७८ मा देश फर्किएका हुन् । वैदेशिक रोजगारीका क्रममा कमाएको पैसाले स्वदेशमै व्यवसाय गर्ने सोच बनाए । बचत भएको रूकमको ठूलो हिस्सा भैँसीपालनमा लगाएका छन् । विगत दुई वर्षदेखि भैँसीपालन गरिरहेका रेग्मीको लोभलाग्दो भैँसी फर्म रहेको छ । भैँसीपालनका लागि हालसम्म ३५ लाख खर्च भइसकेको छ । लगानी थप्दै गएको उनी बताउँछन् । सुरुमा २५ लाख लगानी गरेर व्यवसाय सुरु गरे । सफलता मिल्दै जाँदा व्यवसायलाई बढाएको उनको भनाइ छ । विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन भन्छन् उनी । हेमराज उमेरले २८ वर्षका भए । पाँच वर्ष मलेसिया बसेका उनलाई आफ्नै देशमा केही गर्न मन छ । विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताउँछन् । भैँसीपालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ । घरपरिवारको सहयोग हुँदा आफूलाई व्यवसाय सञ्चालन गर्न निकै सहज भएको रेग्मीले बताए । उनले स्वदेश फर्के लगत्तै श्रीराम हनुमान एग्रो प्रा.लि. दर्ता गरेर व्यवसाय अगाडि बढाएका हुन् । रेग्मीलाई यतिबेला दूध बेच्न भ्याइनभ्याइ हुन्छ । दैनिक ३० लिटर दूध बजारमा बेच्छन् । प्रतिलिटर ७५ रूपैयाँका दरले दूध बिक्री गर्दा एक दिनमा उनको कमाइ दुई हजार भन्दा बढी हुन्छ ।
हेमराज एक उदाहरण हुन् । बेरोजगार भएर बसिरहेका वा विदेश जाने तयारीमा रहेका अन्य युवाहरूका लागि उत्प्रेरणा पनि हुन् । परदेशमा गएर गर्ने परिश्रम स्वदेशमै गर्ने हो भने रोजगारीका लागि भौतारिरहनु पर्दैन । आफै आत्मनिर्भर भएर स्वदेशमै पर्याप्त आम्दानी गर्न सकिन्छ । जसले व्यक्तिको मात्रै आत्मनिर्भर बनाउँदैन गाउँ, समाज र राष्ट्रलाई नै समृद्ध बढाउन समेत योगदान पु¥याउँछ ।
प्रकाशित मितिः १५ श्रावण २०८०, सोमबार १०:२०
सम्पादकीय ।