विदेश त्यागेर व्यवसाय
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. १० युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किए । त्यहाँ उनको आम्दानी राम्रै थियो । मासिकरूपमा एक लाखभन्दा बढी कमाउथे । तर उनी परदेशमा रमाउन सकेनन् । स्वदेश फर्किए ।
उनी स्वदेश फर्किएको करिब दुई वर्ष भयो । २०७३ मा मलेसिया पुगेर २०७८ मा देश फर्किएका हुन् । वैदेशिक रोजगारीका क्रममा कमाएको पैसाले स्वदेशमै व्यवसाय गर्ने सोच बनाए । बचत भएको रूकमको ठूलो हिस्सा भैँसीपालनमा लगाएका छन् । विगत दुई वर्षदेखि भैँसीपालन गरिरहेका रेग्मीको लोभलाग्दो भैँसी फर्म रहेको छ ।
भैँसीपालनका लागि हालसम्म ३५ लाख खर्च भइसकेको छ । लगानी थप्दै गएको उनी बताउँछन् । सुरुमा २५ लाख लगानी गरेर व्यवसाय सुरु गरे । सफलता मिल्दै जाँदा व्यवसायलाई बढाएको उनको भनाइ छ । ‘विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन’ रेग्मीले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौं । कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाई चाँही धेरै खोज्छौँ । अनि जति कमाए पनि कमै देख्छौँ ।’
हेमराज उमेरले २८ वर्षका भए । पाँच वर्ष मलेसिया बसेका उनलाई आफ्नै देशमा केही गर्न मन छ । विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताउँछन् । ‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’ उनले भने, ‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’ विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच पलाएको उनको भनाइ छ । भैँसीपालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ । घरपरिवारको सहयोग हुँदा आफूलाई व्यवसाय सञ्चालन गर्न निकै सहज भएको रेग्मीले बताए । उनले स्वदेश फर्के लगत्तै श्रीराम हनुमान एग्रो प्रा.लि. दर्ता गरेर व्यवसाय अगाडि बढाएका हुन् ।
उनको दैनिकी भैँसीको रेखदेख गरेर बित्छ । रेग्मीलाई यतिबेला दूध बेच्न भ्याइनभ्याइ हुन्छ । दैनिक ३० लिटर दूध बजारमा बेच्छन् । पाँच लिटर गाउँमा र २५ लिटर डेरी उद्योगमा बेच्ने गरेको जनाए । प्रतिलिटर ७५ रूपैयाँका दरले दूध बिक्री गर्दा एक दिनमा उनको कमाइ दुई हजार भन्दा बढी हुन्छ । ‘दूध बिक्रीमा कुनै समस्या छैन, घरमै आएर लिन्छन्’ उनले भने, ‘मागअनुसार दूध पु¥याउन अझै सकिएको छैन । केही गाउँमै बिक्री हुन्छ । बाँकी दूध डेरीले खरिद गरिरहेको छ ।’
भैँसीपालनले परिवारमा आर्थिक समृद्धि ल्याएको रेग्मीले बताए । भनेकै मूल्यमा दूध सहज तरीकाले बिक्री वितरण भइरहेको छ । उनले भने, ‘बजारमा माग भएजति दूध मैले पु¥याउनै सकिरहेको छैन । त्यसका लागि भएपनि भैँसीको संख्या थप्नु पर्ने अवस्था आएको छ ।’
व्यवसाय सञ्चालन गर्नका लागि उनले दश रोपनी जग्गा भाडामा लिएका छन् । वार्षिक एक लाखका दरले दश वर्षका लागि सम्झौता गरेर व्यवसाय सुरु गरेको उनले जानकारी दिए । व्यवसायबाट वार्षिक आम्दानी चार लाखभन्दा बढी हुन्छ । भैँसीपालनले आफूलाई रोजीरोटीसँगै इज्जत, प्रतिष्ठा र आत्मसम्मान दिइरहेको रेग्मी बताउँछन् । अनुदान पाए व्यवसायलाई अझै बढाउने उनको सोच छ । व्यवसायमा आफू सँगसँगै एक जनालाई रोजगारी पनि दिएका छन । प्लस–टु उत्तीर्ण गरेका उनको ध्यान जागीरतिर गएन, विदेशबाट फर्किएर भैँसीपालन गरे । सुरुमा धनगडीबाट चार वटा भैँसी ल्याएका थिए । अहिले उनको फर्ममा सात वटा भैँसी, पाँच वटा पाडापाडी छन् । फर्मबाट उत्पादन भएका पाडापाडी अन्य किसानलाई बेच्ने गरेको रेग्मीले बताए ।
वैदेशिक रोजगारीबाट फर्केर व्यवसायमा लागेका हेमराज एक उदाहरणीय पात्र बनेका छन् । थुप्रै युवाहरू वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् । उनीहरूमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।
प्रकाशित मितिः १४ श्रावण २०८०, आईतवार ०५:०५
रजनी याेगी ।