सुरुङ मार्गमा अवरोध
सुरुङ मार्ग निर्माणको अध्ययनमा अवरोध सिर्जना भएको छ । लगातारको वर्षात्सँगै सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा समस्या निम्तिएको हो । सडक विभागले गत जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङ मार्ग अध्ययन सम्झौता गरेको थियो । सोहीअनुसार अध्ययन सुरु भइसकेको छ । प्रस्तावित सुरुङ मार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने छ । पहिलो चरणको अध्ययन भइरहँदा पहिरोले सडक अवरुद्ध पारेपछि समस्या भएको हो ।
सडकको अवरोधका कारण आवश्यक उपकरणसहित सम्बन्धित ठाउँमा अध्ययनका लागि जान नसकिएको हो । बाटोको अवरोध खुल्ने बित्तिकै फिल्डैमा पुगेर अध्ययनको काम अघि बढाउने तयारीमा टोली छ । एक चरण फिल्डमा पुगेर रिपोर्ट तयार गरिएको र उपकरणसहित पुनः जानुपर्ने भएकाले बाटोका कारण काम रोकिएको हो । हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट–जुम्ला जोड्ने सडक निर्माण जारी छ । ठाउँ–ठाउँमा झरेको पहिरोका कारण पनि अध्ययनका बाँकी काम अघि बढेका छैनन् । सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमान समेत अध्ययन हुँदैछ । पाँच महिनामा गर्नुपर्ने अध्ययनको काम भने वर्षात्का कारण केही समय लम्बिने भएको छ । सम्झौता अनुसार आउँदो असोजसम्ममा अध्ययनको काम सक्नुपर्ने हुन्छ । अध्ययनको काम सुरु गरेको दुई महिना बितिसकेको छ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ ।
यो सुरुङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । दुरी र व्यापारका हिसाबले सुरुङ मार्ग नै उपयुक्त विकल्प हुने देखिन्छ । जाजरकोटको साङटाबाट जुम्लाको इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै दश किलोमिटर रहेको र सुरुङ मार्ग पाँच किलोमिटरभन्दा कमको हुनेछ । सुरुङ मार्ग निर्माणपछि कर्णालीका माथिल्लो भेगमा उत्पादन हुने अर्गानिक वस्तुले राम्रो बजार पाउने र किसानले प्रत्यक्ष लाभ लिन पाउने अपेक्षा गरिएको छ । कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङ मार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा पाँच घण्टा छिटो हुने जनाइएको छ । सुरुङ मार्गले आवतजावतका निम्ति सहज त हुन्छ नै यो आयोजनाले कर्णालीको आर्थिक उन्नति, समृद्धि र विकासमा ठूलो मद्दत पुग्ने छ । तर सुरुङ मार्गको योजना विगतमा पनि अघि सार्ने तर बीचमै अलपत्र छोड्ने हुँदै आएको छ । त्यसैले अध्ययनमै मात्र सिमित राख्नु हुँदैन, औचित्यका आधारमा आयोजना अघि बढाउनेगरी लाग्न जरुरी छ ।
प्रकाशित मितिः १० श्रावण २०८०, बुधबार १२:४५
सम्पादकीय ।