लगानी सुनिश्चितता

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । सम्भावना भएर पनि उपयोग हुन भने सकेको छैन । उपलब्ध स्रोतमा लगानी गर्न नसक्दा विद्युत उत्पादन हुन नसकेको हो । बरु कर्णालीकै आधा जनसंख्या विद्युतको पहुँचभन्दा बाहिर छन् । प्रदेशभित्र प्रस्तावित आयोजनाको संख्या भने एक दर्जनभन्दा पनि बढी छ । तर अधिकांश आयोजना अलपत्र अवस्थामा छन् । केही अध्ययनकै चरणमा छन् भने केही निर्माण कार्य प्रारम्भ भइसकेपछि विभिन्न विवादमा रुमलिएका छन् । कम क्षमताका केही जलविद्युत आयोजना सञ्चालनमा आएपनि कर्णालीमा ठूलो क्षमताका आयोजना निर्माण हुन सकिरहेका छैनन् । जिम्मा पाएका निर्माण कम्पनीले बिचमै काम छोड्नाले पनि आयोजना निर्माणमा ढिलाइ हुने गरेको छ ।

आयोजना निर्माणको ठेक्का पाएका विदेशी कम्पनीले नै बिचमै काम छोड्ने गरेका छन् । बरु चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजनामा नेपाली निर्माण कम्पनीले रूचि देखाएको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि रुरु जलविद्युत परियोजना कम्पनी अघि सरेको हो । हुम्ला कर्णाली–१ जलविद्युत आयोजनार र हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले हात झिकेको थियो । सिचुवान पछि हटेपछि अलपत्र परेका योजना निर्माणको काम अब रुरु जलविद्युत परियोजनाले गर्ने भएको छ । सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वे अनुमति लिएको थियो । एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनका काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको हो । कम्पनीले पूर्वअध्ययनका काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको हो । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ । अहिले यी दुवै आयोजना नेपाली कम्पनी रुरु जलविद्युत परियोजना लिमिटेडले ‘टेक ओभर’ गरेको छ ।

२०७९ चैत पहिलो सातादेखि सिचुवानबाट हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीसँगको आपसी सहकार्यमा आयोजना आफूले लिएको रुरु जलविद्युत परियोजना लिमिटेडले जनाएको छ । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको हो । रुरु परियोजनाले सरकारसँग उत्पादन अनुमति मागेको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माण गर्ने भन्दै परियोजनाले अनुमति मागेको हो । स्रोत र लगानीको सुनिश्चितता गरेर जलविद्युत आयोजना अघि बढाउन सरकारी तहबाट पनि विशेष ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   ४ श्रावण २०८०, बिहीबार ०५:०३