पानीमा लगानीः १५

सिचुवानले छोडेका आयोजनामा रुरुको रुचि

सुर्खेत: चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजनामा नेपाली निर्माण कम्पनीले रूचि देखाएको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि रुरु जलविद्युत परियोजना कम्पनी अघि सरेको हो ।

हुम्ला कर्णाली–१ जलविद्युत आयोजनार र हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले हात झिकेको थियो । सिचुवान पछि हटेपछि अलपत्र परेका योजना निर्माणको काम अब रुरु जलविद्युत परियोजनाले गर्ने भएको छ ।

सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वे अनुमति लिएको थियो । एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनका काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको हो । कम्पनीले पूर्वअध्ययनका काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको हो । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ । अहिले यी दुवै आयोजना नेपाली कम्पनी रुरु जलविद्युत परियोजना लिमिटेडले ‘टेक ओभर’ गरेको छ ।

रुरु जलविद्युत परियोजनाले

२०७९ चैत पहिलो सातादेखि सिचुवानबाट हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीसँगको आपसी सहकार्यमा आयोजना आफूले लिएको रुरु जलविद्युत परियोजना लिमिटेडले जनाएको छ । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको हो ।

रुरु परियोजनाले सरकारसँग उत्पादन अनुमति मागेको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माण गर्ने भन्दै परियोजनाले अनुमति मागेको हो । विद्युत विकास विभागसँग जलविद्युत आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरिएको कम्पनीका अध्यक्ष आशीष सुवेदीले जानकारी दिए । उनका अनुसार उत्पादन अनुमति पत्र २०७९ चैत अन्तिम सातामा विभागमा पेस गरिएको छ । विभागले बेला–बेलामा पूर्ण विवरणसहित कागजपत्र माग्ने र प्रि–फिजिबिलिटी अध्ययनको सम्पूर्ण जानकारी लिने गरेको सुवेदीले बताए ।

उत्पादन स्वीकृती प्राप्त हुने बित्तिकै निर्माणको काम अघि बढाउने तयारी कम्पनीको छ । उत्पादन क्षमता अब्बल हुने देखिएपछि आयोजनाको काम अघि बढाइएको उनको भनाइ छ । आयोजनास्थलसम्म सडक र विद्युत समेत पुगेकोले निर्माणमा अन्य प्राविधिक बाधा नहुने जनाइएको छ । विभागसँग उत्पादन अनुमति मागेकाले निर्माण कार्य छिट्टै थालिने अध्यक्ष सुवेदीले जनाए ।

चार पालिका प्रभावित

दुईवटै जलविद्युत आयोजना हुम्ला जिल्लामा बन्नेछन् । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ लाई तल्लो परियोजनाको रूपमा राखिएको छ । उक्त आयोजनाबाट हुम्लाको सर्केगाड गाउँपालिका र मुगुको सोरु गाउँपालिकाका केही वडा प्रभावित हुनेछन् ।
यसैगरी तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनालाई माथिल्लो परियोजनाको रूपमा राखिएको छ । उक्त आयोजनाबाट हुम्लाका दुई वटा गाउँपालिका प्रभावित बन्नेछन् । सर्केगाड र खार्पुनाथ गाउँपालिकाका केहि वडा आयोजनाबाट प्रभावित हुने जनाइएको छ ।

एक खर्ब लागत अनुमान

दुई वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको छ । रुरु जलविद्युत परियोजनाले एकैसाथ दुई वटा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका निर्माणका लागि एक खर्ब २० अर्ब लागत लाग्ने अनुमान गरिएको रुरु जलविद्युत कम्पनीका अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मितिः   ३ श्रावण २०८०, बुधबार १६:०८