विद्युत आयोजनाकाले उत्साह
कर्णाली प्रदेशमा दुई सय ७० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रूकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ । २०७५ साल जेठ १५ गते विद्युत विकास विभागबाट गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट प्रा.लि.ले सर्वे अनुमति पाएको थियो । पाँच वर्ष लगाएर जलविद्युत आयोजना निर्माणका लागि अध्ययनको काम सम्पन्न गरिसकेको छ । अध्ययनले दुई सय ७० मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ ।
अध्ययनको काम सकेर गेजुवाले उत्पादनका लागि लाइसेन्स मागेको हो । २०८० जेठ १४ मा कम्पनीले निर्माण उत्पादन अनुमति मागेको हो । पाँच वर्षको अवधिमा गरिएको अध्ययनको सम्पूर्ण विवरण अहिले विद्युत विकास विभागले अध्ययन गरिरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), आयोजनाको डिपीआर, प्राविधिक अध्ययनलगायतका विवरण हेरेर अनुमतिको निर्णय गर्नेछ । आयोजनाको निर्माणस्थल, प्रभावित क्षेत्र, लागत, इआइएलगायत सबै पक्षको अध्ययन भइरहेको छ । उक्त अध्ययनपश्चात उत्पादन लाइसेन्सको टुँगो लाग्ने जनाइएको छ । विभागले आयोजनाको आर्थिक, संस्थागत क्षमता, पेस गरेका सबै विवरण ठीक भए निर्माण प्रक्रियाका लागि अनुमति दिनेछ । गेजुवाले २०७५ जेठमा सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो । त्यतिबेला चार सय ४० मेगावाटको सर्वे लाइसेन्स लिएको थियो । सर्वेपछि भने एक सय ७० मेगावाट क्षमता घटाएर दुई सय ७० मेगावाट कायम गर्दै आयोजना निर्माण अघि बढाउन लागिएको हो । करिब सात सय मेगावाट विद्युत उत्पादन क्षमता रहेको भनिएको भेरी–१ मा चार सय ४० लाई पनि घटाएर दुई सय ७० मेगावाटमा झारिएको छ ।
उत्पादन अनुमति मागेको कम्पनीले सन् २०२४ बाट निर्माण सुरु गरेर २०२७ मा व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखेको छ । यद्यपि, यसअघि नेपालकै विभिन्न आयोजनाको जिम्मा लिएर काम नगरेको र कालोसूचिमा समेत परेको चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिन नहुने आवाज पनि उठ्ने गरेको छ । सम्झौताअनुसारको समयावधिभित्रै निर्माण र लगानीको सुनिश्चिता गरेर मात्रै जिम्मा दिनुपर्ने माग स्थानीय छ । आयोजना निर्माण भएमा जिल्लाको विकासमा ठूलो सघाउ पुग्नेमा भने यहाँका नागरिक उत्साहित छन् । विद्युत उत्पादन र प्रयोग सँगसँगै रोजगारीका अवसरहरू पनि सिर्जना हुने हुनाले प्रस्ताविन आयोजनाले उत्साह बढाएको छ । तर निर्माण प्रक्रियामा गइसकेर पनि लामो समय अल्झिने अवस्थाबाट भने आयोजनालाई निकाल्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः २ श्रावण २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।