औद्योगिक करिडोर बनाउन पहल

सुर्खेत: पूर्वी सुर्खेतमा औद्योगिक करिडोर निर्माणका लागि पहल थालिएको छ । कर्णाली प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वयमा छिन्चु–मेहेलकुना हरित औद्योगिक करिडोर निर्माणको योजना अघि सारेको हो ।

प्रस्तावित योजना कार्यान्वयनका लागि सोमवार अनुगमनसहित अन्तरक्रिया गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मासहितको टोलीले निरिक्षण गरेको हो । निरिक्षणमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बिसी, सामाजिक विकासमन्त्री खड्ग पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागिता रहेको थियो ।

भेरीगंगामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि यसअघि नै प्रस्ताव गरिएको थियो । उक्त औद्योगिक क्षेत्रलाई विस्तार गर्दै छिन्चुदेखि मेहेलकुनासम्म औद्योगिक करिडोर बनाउने योजना प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको हो । औद्योगिक विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित करिडोर योजना ल्याइएको जनाइएको छ ।

सरकारी योजनाको स्वागत गर्दै स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय तहले जग्गा उपलब्ध गराउने र औद्योगिक करिडोर बनाउन प्रदेश सरकारले लगानी गर्ने जनाए । यसले औद्योगिक विकासका साथसाथै रोजगारी पनि सिर्जना गर्ने उनको भनाइ छ ।

निरीक्षणपछिको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको स्रोत, साधनको उचित प्रयोग गर्न सरकार अग्रसर भइरहेको बताए । उनले औद्योगी विकास गर्दै रोजगारी सिर्जना गर्ने र प्रदेशलाई समृद्ध बनाउने योजनामा सरकार केन्द्रित भएको जनाए । प्रदेशमै उपलब्ध स्रोतको उपयोग गर्ने खालका उद्योग स्थापनामा लगानी बढाइने शर्माको भनाइ थियो ।

प्रकाशित मितिः   २ श्रावण २०८०, मंगलवार ०५:०१