पानी आपूर्ति अवरुद्ध

वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गर्न पहिरो बाधक बनेको छ । केही दिनअघिको वर्षाले पहिरो निम्त्याएपछि झुप्राखोलाबाट ल्याइएको पानीको लाइन अवरुद्ध हुन पुगेको छ । पहिरोले आपूर्ति अवरुद्ध हुँदा वीरेन्द्रनगरमा खानेपानीको संकट चुलिएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पु¥याएको छ । जसका कारण पछिल्लो दुई सातादेखि वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिएको हो ।

असार १२ गते राति गएको पहिरोले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित भञ्ज्याङमा पाइप लाइन क्षतविच्छेद बनाएको छ । पहिरोले उक्त स्थानमा तीन सय एमएमको मुख्य प्रसारण पाइप, जाली र अन्य संरचना भत्काएको छ । उपत्यकामा आउने पानीको मुख्य स्रोत नै झुप्राखोला हो । उक्त स्रोतबाट प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति हुन्छ । तर पहिरोले संरचना भत्काउँदा मर्मतमा अझै दुई साता लाग्ने देखिएको छ । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा बढी खर्च लाग्ने गरेको छ । गर्मीयाममा मुहान सुक्ने र वर्षायाममा पहिरोले पाइप लाइन बगाउँदा उपत्यकामा खानेपानी अनियमित हुने गरेको छ । वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत न्यून हुँदा बर्सेनि खानेपानीको संकट हुने गरेको हो । विशेष गरेर गर्मी मौसममा पानीको संकट हुने थियो । तर, यो वर्ष वर्षात् सुरुहुने बित्तिकै खानेपानीको हाहाकार मच्चिएको छ । नागरिकको धारामा दुई सातादेखि पानी आएको छैन । मुुख्य पाइप लाइन नै पहिरोले बगाएपछि केही दिनयता विकल्पका रूपमा संस्थाले पधेँरी खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाएको छ । अहिले प्रतिसेकेन्ड २० लिटर पानी आपूर्ति भइरहेको छ । विकल्पका रूपमा पधेँरी खोलाको पानीको जोहो गरिएको हो । उपभोक्तालाई खानेपानी पु¥याउन वैकल्पिक उपायका रूपमा केही दिनका लागि पधेँरी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ । यसले केही मात्रामा भएपनि सहज हुने जनाइएको छ ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले दुई सय ५० लिटर प्रतिसेकेण्ड पानीको अभाव हुने गरेको छ । झुप्राखोलाबाट आउने ८६ लिटर पानी ठप्प छ । खरीखोला र बोरी खोलाबाट प्रतिसेकेन्ड ३० लिटर, पधँेरी खोलाबाट २० लिटर, इत्राम खोलाबाट १५ लिटर, खोक्रे खोलाबाट पाँच लिटर प्रतिसेकेन्ड खोनेपानी आपूर्ति भइरहेको छ । अहिले संस्थाले पाँच दिनमा एक पटक खानेपानी वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मितिः   १ श्रावण २०८०, सोमबार ०५:०३