पहिरोले पानी आपूर्ति अवरुद्ध
सुर्खेत: पहिरोले आपूर्ति अवरुद्ध हुँदा वीरेन्द्रनगरमा खानेपानीको संकट चुलिएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पु¥याएको छ । जसका कारण पछिल्लो दुई सातादेखि वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिएको हो ।
पहिरोले पाइप लाइनसँगै आयोजनाका अन्य संरचनामासमेत क्षति पु¥याउँदा सेवा प्रवाहमा चुनौती भएको संस्थाका अध्यक्ष कूलमणी देवकोटाले जनाए । ‘झुप्रा खोलाबाट ल्याएको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पु¥याएपछि असार १२ गतेदेखि उपत्यकाको खानेपानी वितरणमा कठिनाइ भइरहेको छ’ उनले भने, ‘झुप्रा खोलाबाट अहिले एक थोपा पानी आएको छैन ।’
असार १२ गते राति गएको पहिरोले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित भञ्ज्याङमा पाइप लाइन क्षतविच्छेद बनाएको छ । पहिरोले उक्त स्थानमा तीन सय एमएमको मुख्य प्रसारण पाइप, जाली र अन्य संरचना भत्काएको छ । उपत्यकामा आउने पानीको मुख्य स्रोत नै झुप्राखोला हो । उक्त स्रोतबाट प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति हुन्छ । तर पहिरोले संरचना भत्काउँदा मर्मतमा मात्रै झन्डै १५ लाख खर्च हुने देखिएको अध्यक्ष देवकोटाले बताए । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा बढी खर्च लाग्ने गरेको छ ।
विकल्पमा पधेँरी खोला
मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि केही दिनयता विकल्पका रूपमा संस्थाले पधेँरी खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाएको छ । अहिले प्रतिसेकेन्ड २० लिटर पानी आपूर्ति भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । उनका अनुसार पहिरोले बगाएको झुप्राखोलाको मुख्य पाइन लाइन मर्मत गर्न १५ दिन लाग्ने देखिएकाले विकल्पका रूपमा पधँेरी खोलाको पानीको जोहो गरिएको हो । तिवारीले भने, ‘मुख्य प्रसारण लाइन मर्मत हुन अझै १५ दिन लाग्छ । मुख्य पाइप लाइन सञ्चालन नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छौँ ।’
ग्याविन जालीसहित पाइप लाइन क्षतविच्छेद भएकाले समय लाग्ने उनको भनाइ छ । उपभोक्तालाई खानेपानी पु¥याउन वैकल्पिक उपायका रूपमा केही दिनका लागि पधेँरी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ । यसले केही मात्रामा भएपनि सहज हुने जनाइएको छ ।
सधैँ पानीको संकट
गर्मीयाममा मुहान सुक्ने र वर्षायाममा पहिरोले पाइप लाइन बगाउँदा उपत्यकामा खानेपानी अनियमित हुने गरेको छ । वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत न्यून हुँदा बर्सेनि खानेपानीको संकट हुने गरेको हो । विशेष गरेर गर्मी मौसममा पानीको संकट हुने थियो । तर, यो वर्ष वर्षात् सुरुहुने बित्तिकै खानेपानीको हाहाकार मच्चिएको छ । नागरिकको धारामा दुई सातादेखि पानी आएको छैन ।
गर्मीयाममा खानेपानीको समस्या भोगेकी वीरेन्द्रनगर नगरपालिका वडा नंं. ३ की पूर्णकला विकलाई वर्षात्मा खानेपानीको सहज होला भन्ने आशा थियो । तर, उनको धारामा १९ दिनदेखि पानी आएको छैन । कहिले आकाशे पानी त कहिले अरुको कुवाबाट पानीको जोहो गर्ने गरेको उनले बताइन् ।
वीरेन्द्रनगर–१ का सविन गिरी पानीका अन्य स्रोत नहुँदा वर्षात्मा खानेपानीको हाहाकार मच्चिएको बताउँछन् । ‘हिउँद र गर्मीयाममा पानीको संकट झेलेका थियौँ । वर्षात्मा त छेलोखेलो पानी आउला भनेको १८ दिनदेखि धारामा पानी नै आएको छैन’ उनले भने ।
वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले दुई सय ५० लिटर प्रतिसेकेण्ड पानीको अभाव हुने गरेको छ । झुप्राखोलाबाट आउने ८६ लिटर पानी ठप्प छ । खरीखोला र बोरी खोलाबाट प्रतिसेकेन्ड ३० लिटर, पधँेरी खोलाबाट २० लिटर, इत्राम खोलाबाट १५ लिटर, खोक्रे खोलाबाट पाँच लिटर प्रतिसेकेन्ड खोनेपानी आपूर्ति भइरहेको छ । अहिले संस्थाले पाँच दिनमा एक पटक खानेपानी वितरण गर्दै आइरहेको छ ।
प्रकाशित मितिः ३१ असार २०८०, आईतवार ११:०४
रजनी याेगी ।