स्वास्थ्य सेवामा फड्को

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण कार्य सफल भएको छ । बिहीवार रोल्पा नगरपालिका–२ का ३७ वर्षीया बिरामीको मृर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पतालमा नियमित रूपमा मृर्गौला प्रत्यारोपण गर्ने योजनाअनुसार सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पु¥याएर दोस्रो पटक सफल प्रत्यारोपण गरिएको हो । यसअघि २०७९ माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृर्गौला प्रत्यारोपण गरिएको थियो । नेपालका सबै प्रदेशहरूमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने राष्ट्रिय प्रत्यारोपण केन्द्रको योजनाअन्तर्गत कर्णाली प्रदेश अस्पताल र केन्द्रबीच २०७८ चैत १० गते यो सेवा सुरू गर्ने सम्झौता भएको थियो ।

मृगौलाको प्रत्यारोपण सुर्खेतबाटै हुन थालेपछि बिरामीले सहजै उपचार पाउने र आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको छ । मृगौलाका बिरामीले बाहिर गएर उपचार गर्नु पर्दा अनेकन झन्झटको सामना गर्नुपरिरहेको छ । प्रदेश अस्पतालबाट प्रत्यारोपण सुरु भएपछि कम खर्चमा समयमै आफ्नै ठाउँमा बिरामीले सहज उपचार पाउने अपेक्षा गर्न सकिन्छ । यो स्वास्थ्य सेवा सुधारमा एक फड्को नै हो । विकासका अन्य पूर्वाधारमाजस्तै स्वास्थ्य सेवामा पनि पछि परेको प्रदेश हो, कर्णाली । यहाँ पर्याप्त स्वास्थ्य संस्था छैनन् । भएका स्वास्थ्य संस्थाहरूमा पनि गुणस्तरीय सेवा उपलब्ध छैन । पूर्वाधारदेखि जनशक्तिको अभाव सधैँ रहन्छ । तर पछिल्लो समय केही मात्रामा पनि सुधार भएको छ । यसको उदाहरण हो कर्णाली प्रदेश अस्पताल । प्रदेश अस्पतालले स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको छ । अस्पतालले पूर्वाधार विकासमा समेत सुधार गरेको छ भने अस्पतालबाट दिइने सेवामा पनि सुधार भएको छ । सेवा विस्तार गर्ने क्रममा अस्पतालले मानव अङ्ग प्रत्यारोपणजस्तो जटिल खालको स्वास्थ्य उपचार सेवा पनि दिने थालेको छ । यसअघि मृगौलाका बिरामीहरूलाई डाइलासिस सेवा दिइरहेको अस्पतालले अब भने मृगौला प्रत्यारोपण सेवा नै दिन सुरु गरेको हो ।

प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षहरूमा कर्णालीवासीलाई उपचारका लागि निकै सहज भएको छ । केही वर्ष पहिलेसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अहिले सबैजसो उपचार सेवा यतै सम्भव भएपछि उक्त बाध्यता हटेको छ । कर्णाली सरकारको एकमात्र आफ्नो ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेको हो । स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सेवा थप्दै जाँदा नागरिकहरूको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको छ । प्रदेश अस्पतालले निकट भविष्यमै मुटु रोगको जटिल उपचार पनि थाल्ने जनाइएको छ । त्यसका लागि आवश्यक ‘क्याथ ल्याव’ स्थापनाको पहल भइरहेको छ ।

प्रकाशित मितिः   ३१ असार २०८०, आईतवार ११:०१