गुर्भाकोटमा इलाका प्रशासन

सुर्खेत: गुर्भाकोटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । पूर्वी सुर्खेतका नागरिकलाई लक्षित गरेर गुर्भाकोट–७ मेहेलकुनामा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो । कार्यालयको शनिवार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै गुर्भाकोट, भेरीगंगा, सिम्ता, लेकवेशीलगायतका नागरिकले अब सोही कार्यालयबाट प्रशासनीय सेवा लिन पाउनेछन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न इलाका प्रशासन स्थापना गरिएको जनाए । निर्वाचनको समयमा मतदातासँग जनाएको प्रतिबद्धताअनुसार नै काम भइरहेको भन्दै इलाका प्रशासन कार्यालय स्थापना त्यसैको एक उदाहरण भएको उनले बताए ।

सोही कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले नागरिकको घरआगनमै सेवा पु¥याउनु संघीयताको मर्म भएको भन्दै सोहीअनुसार काम अघि बढिरहेको बताए । यसका साथै प्रदेश सरकारले नागरिकका आवश्यकताअनुसार अन्य योजना र कार्यक्रम पनि सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पनि नागरिकका अपेक्षाअनुसार नै सरकारले सेवा प्रवाह गर्ने बताए । सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले तिनै तहका सरकार मिलेर जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   ३१ असार २०८०, आईतवार ११:०६