जनशक्ति व्यवस्थापन गर
कर्णाली प्रदेश अस्पतालको स्तरोन्नति हुँदैछ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल विकास भइरहेको छ । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि धमाधम अघि बढाएको हो । पाँच सय सैयासहितको बनाउन पूर्वाधार निर्माण गर्न थालिएको छ । सुविधा सम्पन्न र स्तरीय अस्पताल बनाउने गरी काम अघि बढिरहेको छ । पूर्वाधार विकाससँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ । अस्पतालमा अहिले दैनिक दुई हजार हाराहार बिरामी सेवा लिन आउने गरेका छन् । पछिल्लो समय स्वास्थ्य सेवामा सुधार आएसँगै बिरामीको चाप थप बढेको हो । अस्पतालको भौतिक पूर्वाधारमा ठूलो सुधार आएको छ ।
सेवामा विस्तार भएको छ । विगतको भन्दा धेरै सेवा अस्पतालले दिन थालेको छ । तर यति हुँदाहुँदै पनि बिरामीलाई भने स्वास्थ्य सेवा लिन सास्ती हुने गरेको छ । विशेष गरेर चाप बढेसँगै लामो समयसम्म पालो कुर्नुपर्ने समस्याले बिरामीलाई सताएको छ । नाम लेख्नेदेखि डक्टरलाई भेट्नेसम्ममा निकै लामो समय लाइन लाग्नुपर्ने अवस्था छ । अर्कोतर्फ स्वास्थ्य बीमाको सेवा लिन थप झन्झट बेहोर्नुपरिरहेको गुनासो सेवाग्राहीको छ । स्वास्थ्य बीमा गरेका बिरामीहरूले तोकिएअनुसारका रोगको उपचार निशुल्क पाउँछन् । तर यसको सेवा लिन सहज छैन । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएपनि यसको प्रक्रिया बारे बीमाकर्ताहरू नै स्पष्ट हुन नसकेकाले सेवा लिन नागरिक अलमलमा पर्ने गरेका हुन् ।
अर्कोतर्फ अस्पतालमा जनशक्तिको अभाव र नागरिकहरूमा प्रक्रियाको बारेमा ज्ञान नहुँदा सेवाप्रवाहमा समस्या हुनेगरेको छ । प्रदेश अस्पतालमा दैनिक पाँच सय देखि आठ सयको हाराहारीमा स्वास्थ्य बीमाका सेवाग्राहीहरू प्रदेश अस्पतालमा आउने गरेका छन् । तर, कर्मचारी अभावका कारण एक जना कर्मचारी बराबर दुईदेखि साढे दुई सय जना सेवाग्रहीलाई सेवा दिनुपर्ने अवस्था रहेको छ । बीमासम्बन्धी हेर्ने कर्मचारी तीन जना मात्र छन् । बीमाको सेवा प्रवाह गर्ने कार्यकक्ष साघुँरो हुँदा सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । बीमामा काम गर्दा सर्वरमा समस्या आउने, बत्तिको समस्या र अस्पतालको व्याकपको समस्या हुन्छ । फर्जी बीमित संख्या न्यून गर्न बीमाको नामदर्ताका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको हो । यस्ता विविध कारणले सेवा लिन ढिलाइ हुँदा बिरामीले सास्ती महसुस गर्ने गर्दछन् । त्यसैले आवश्यक जनशक्तिको व्यवस्थापन गरेर अस्पतालको स्वास्थ्य सेवालाई अझ सहज र सरल बनाउनेतर्फ सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ ।
प्रकाशित मितिः २९ असार २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।