स्यार्पु हाइड्रोपावर

स्यार्पु हाइड्रोपावरको डीपीआर बन्दै

सुर्खेत: रूकुम–पश्चिममा प्रस्तावित स्यार्पु जलविद्युत आयोजना निर्माणका लागि अध्ययनको काम सकिएको छ । दुई वर्षअघि सर्वे अनुमति पाएको स्यार्पु हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको पूर्वअध्ययनका काम सम्पन्न गरेको हो ।
विद्युत विकास विभागले २०७८ सालमा आयोजनाका लागि सर्वे अनुमति दिएको थियो । दुई वर्षमा पूर्वअध्ययन सकिएसँगै अब आयोजनाका अन्य प्रक्रियागत काम अघि बढाइएको छ । रूकुम–पश्चिमका सबै स्थानीय सरकारको लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । ६ वटा स्थानीय तहको सात करोड शेयर लगानी रहेको छ । यो आयोजना ३.३ मेगावाट क्षमताको हो ।

जिल्लाको बाँफीकोट गाउँपालिका वडा नं. ३ मा आयोजना निर्माण गरी विद्युत उत्पादन गरिनेछ । आयोजनाको अध्ययनको काम सम्पन्न भएको स्यार्पु पावर कम्पनी लिमिटेडका इन्जिनियर प्रदिप ओलीले जानकारी दिए । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम पनि सकिएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) स्वीकृतीको चरणमा पुगेको छ । डीपीआर स्वीकृत भएसँगै आयोजना निर्माणको काम अघि बढाइनेछ ।

जलविद्युत आयोजना निर्माणको काम आउँदो असोजमा सुरु गर्नेगरी तयारी भइरहेको ओलीले बताए । उनले भने, ‘फिजिविलिटी अध्ययनको काम सम्पन्न भयो । आउँदो असोज महिनाबाट निर्माणको काम सुरु गर्छौं ।’ डीपीआर अध्ययनको आधारमा आयोजनाको काम अघि बढाइने उनले बताए ।

५६ करोड लागत अनुमान

स्यार्पु जलविद्युत आयोजना निर्माणका लागि ५६ करोडको लागत अनुमान गरिएको आयोजनाका इन्जिनियर प्रदिप ओलीले जानकारी दिए । डीपीआरको अध्ययनअनुसार काम अघि बढाइने भन्दै उनले ६ वटा स्थानीय तहको शेयर लगानी रहेको समेत बताए । नाफामुखी आयोजना भएकाले गाउँपालिकाले शेयर लगानी गरेको सानीभेरी गाउँपालिका रूकुम–पश्चिमका अध्यक्ष विर्खबहादुर विष्टले बताए । ६० लाख वार्षिक आम्दानी गर्न सकिने उनले बताए । गाउँपालिकाले तीन करोड २१ लाख शेयर लगानी गरेको छ ।

त्यस्तै चौरजहारी नगरपालिका रूकुम–पश्चिमले पनि आयोजना निर्माणका लागि साढे दुई करोड शेयर लगानी गरेको नगरप्रमुख पुष्प वादीले बताए । स्थानीय सरकारले आयोजनाबाट लाभ लिन सकिने भएकाले लगानी गरेको उनको भनाइ छ । रूकुम–पश्चिमका तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी ६ वटा स्थानीय तहले जलविद्युत आयोजना निर्माणका लागि करिब सात करोड रकम जम्मा गरेका हुन् । सबै स्थानीय तहले गरी दश लाख पू¥याउने लक्ष्य रहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष पिवर्खबहादुर विष्टले बताए ।

४१ रोपनी जग्गा अधिग्रहण

जलविद्युत आयोजना निर्माणका लागि ४१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । अबको केही दिनमा मुआब्जा वितरण गर्ने तयारी पनि गरिएको छ । रूकुम–पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ३ आयोजनाबाट प्रभावित हुनेछ ।
यो आयोजना रन अफ रिभर प्रकारको हुने इन्जिनियर ओलीले जानकारी दिए । आयोजनाको जडित क्षमता ३.३ मेगावाटको हुनेछ भने डिजाइन बहाव १.४० घनमिटर प्रति सेकेन्ड र कूल हेड २८०.२० मिटरको रहेको छ । आयोजनाबाट वार्षिक सरदर १७.७५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युतलाई विद्युत गृहको ६.६ केभीको स्वीचयार्डमा जडान हुने ४.० एमभीए ट्रान्सफर्मरबाट करिब दुई किलोमिटर लामो ३३ केभी प्रसारण लाइन बाँफीकोट सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाबाट १९ महिनापछि विद्युत उत्पादन गरिनेछ ।

प्रकाशित मितिः   २९ असार २०८०, शुक्रबार ०५:०५