रूकुमका सबै पालिका विद्युतीकरण

सुर्खेत: रूकुम–पश्चिमका सबै पालिकामा विद्युत पुगेको छ । रूकुमपूर्वमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि त्यसको लाभ पश्चिम–रूकुमले समेत पाएको हो । अहिले जिल्लाका ६ वटै पालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ ।

रूकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा रूकुमगाड जलविद्युत आयोजना निर्माण भइ सञ्चालनमा आएको छ । पाँच मेगावाट क्षमताको आयोजना निर्माणको काम गत चैतमा सकिएको हो । चैत १२ गते आयोजना निर्माणको काम सकिएको थियो भने चैत २८ गतेबाट व्यापारिक रूपमा विद्युत बिक्री वितरण गरिएको हो ।

भूमे गाउँपालिकाको वडा नं. ४ मा मुख्य आयोजनास्थल रहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत रूकुम–पश्चिमको धैरेनीचौरमा रहेको सवस्टेसनमा जोडेर त्यहाँबाट वितरण गरिएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका रवि पाण्डेले जानकारी दिए । उनका अनुसार रूकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावाट विद्युत रूकुम–पश्चिमको मुसीकोट नगरपालिकाका वडा नं. ३ बाट वितरण भइरहेको छ ।

धैरेनिचौरमा ३३÷११ केभीको सवस्टेसन निर्माण गरिएको छ । २०८० वैशाखबाट सवस्टेसन सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण रूकुम–पश्चिम वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद शाहले जानकारी दिए । उनका अनुसार सवस्टेसनबाट रूकुम–पश्चिम, रूकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत वितरण भइरहेको छ ।

रूकमपूर्वमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि त्यसको लाभ पश्चिम रूकमले समेत पाएको हो । अहिले जिल्लाका ६ वटै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ ।

आयोजना सञ्चालनमा आएसँगै रूकुम–पश्चिमका सबै पालिका राष्ट्रिय प्रसारणमा जोडिएका हुन् । समग्र जिल्लामा ७० प्रतिशत नागरिक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रमुख शाहले जनाए । उक्त प्रसारण लाइन जोडिएपछि विद्युत नियमित भइरहेको स्थानीयको भनाइ छ । आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको मुसीकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले बताए । उनका अनुसार पालिकाका सबै वडामा विद्युत पुगेको छ । उनले भने, ‘उज्यालो मुसीकोट अभियान अहिले उज्यालो पालिकामा परिणत भएको छ । रूकुमगाड जलविद्युत आयोजनाले हामीलाई पनि लाभ पुगेको हो ।’

रूकुम–पश्चिममा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् । सबै पालिकामा विद्युत पुगे पनि सबै वडाहरूमा भने पुगेको छैन । जिल्लाका ७३ वडामध्ये ५० वटामा विद्युत पुगेको छ । अहिलेसम्म जिल्लामा राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रूकुम–पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।

यसैबीच रूकुमगाड जलविद्युत आयोजनाको विद्युत वितरणका लागि रूकुम–पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ९ मा पनि सवस्टेसन निर्माणको काम थालिएको छ । सवस्टेसन निर्माण हुँदा स्थानीयले रोजगारी पाउने र विद्युत नियमित हुने अपेक्षा गरिएको बाँफिकोट गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष जोगबहादुर चन्दले बताए । पूर्वीरूकुममा जलविद्युत आयोजना निर्माण भएपश्चात् आफूहरूले लाभ पाएको उनले बताए । चन्दले भने, ‘अहिले सबै बस्ती उज्यालिएका छन् । नौ वडामा सवस्टेशन निर्माण हुँदैछ हामी निकै हर्षित छौँ ।’ रूकुमगाड जलविद्युत आयोजनाले रूकुमपश्चिमका ६ वटै पालिकालाई विद्युत प्रशारण लाइनमा जोडेको छ ।

प्रकाशित मितिः   ३० असार २०८०, शनिबार ०८:५८