कृषि हाटबजार सञ्चालनमा
सुर्खेत: वीरेन्द्रनगरमा कृषि हाटबजार सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० ले स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्दै शुक्रवारदेखि हाट सञ्चालनमा ल्याइएको हो । हाटबाट स्थानीय कृषकहरूले उत्पादन गरेको कृषि उपज बिक्री वितरण गर्नेछन् ।
सडकको फुटपाथमा व्यापार गर्दै आएका कृषकहरूलाई लक्षित गरी व्यवस्थित रूपमा कृषि हाटबजार स्थापना गरिएको जनाइएको छ । यसअघि एयरपोर्ट चोकनजिक रत्नराजमार्गको फुटपाथमै अव्यवस्थित तरिकाले व्यापार गर्दै आएका कृषकलाई हाटबजारमा सारिएको छ ।
हाटबजारको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मानपूर्वक व्यापार गर्ने अवसर मिलेको बताइन् । ‘यो हाटबजारले कृषकहरूलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्मनिर्भर हुन सक्छौँ’ उनले भनिन् ।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले पनि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष डिलबहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धिको आधार तय गर्ने बताए । उनले विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट सञ्चालन गरेको जनाए । हाटबजार स्थापनासँगै स्थानीय किसानहरू पनि खुसी भएका छन् ।
प्रकाशित मितिः ३० असार २०८०, शनिबार ०९:०१
साझा बिसौनी ।