विद्युत आयोजनामा हेलचक्र्याइँ

दैलेखस्थित २.५ मेगावाट क्षमताको अपरपराजुली जलविद्युत आयोजना अलपत्र परेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ ब्युराखेतमा निर्माण थालिएको आयोजनाको काम ६ वर्षयता ठप्प छ । विद्युत निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यसहित निर्माण थालेको थियो । तर विगत ६ वर्षदेखि काम अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन भएको छ । डुंगेश्वर र गुराँस गाउँपालिकाको सिमानामा रहेको पराजुली खोलामा विद्युत उत्पादन गर्न आठ वर्षअघि रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीले काम सुरु गरेको होे । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको योजना अघि बढ्न सकेन । चार किलोमिटर लामो नहरबाट २.५ मेगावाट विद्युत निकालेर राष्ट्रिय प्रशारण लाइनमा जोेडेर राम्रो आम्दानी लिने भनी स्थानीयसँग करोडौं रूपैयाँ शेयरका नाममा असुलसमेत गरिएको थियो । तर, कम्पनीका सञ्चालकहरू सम्पर्कविहीन हँुदा ६ वर्षदेखि स्थानीयहरू ठगीमा परेको भन्दै चिन्तित बनेका छन् ।

आयोजनाको काम २०७२ सालबाट सुरु गरिएको थियो । तीन वर्षभित्र निर्माण सकेर विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजना अघि बढाइएको हो । करिब ९० प्रतिशत काम समेत सकिएको छ । बाँकी रहेको दश प्रतिशत काम अलपत्र छोडर आयोजना प्रमुख सम्पर्कविहीन भएका छन् । एक सयभन्दा बढी स्थानीयले ५० हजारदेखि पाँच लाखसम्मको सेयर खरिद गरेका छन् । कम्पनी नै सम्पर्कविहीन हुँदा स्थानीयले काम गरेको ज्याला, जग्गाको मुआब्जा, ठेकेदारको सामग्री खरिद भुक्तानी र रासनबापत करोडौँ रकम भुक्तानी गर्न बाँकी छ । आयोजना प्रभावित क्षेत्रका नागरिकले जग्गाको मुआब्जा पाएका छैनन् । डुङ्गेश्वर गाउँपालिका वडा नं. ३ र ४ का ६५ घरपरिवार प्रभावितले मुआब्जा नपाएका हुन् । घरबारीको मुआब्जा नपाएका पीडित परिवार यतिबेला समस्यामा परेका छन् । आयोजना बन्छ भने स्थानीय नागरिकले आफूले खेती गर्दै आएको जग्गा समेत दिए । त्यसवापत मुआब्जा पाउनुपर्ने हो । तर पाएनन् । न मुआब्जा पाए न त जग्गा उनीहरूको रह्यो । अहिले खेती गर्न समेत पाएका छैनन् । कि मुआब्जा दिनुपर्ने नभए जमिन उपभोग गर्न दिनुपर्ने माग नागरिकको छ । आठवर्षदेखि जग्गाको मुआब्जा पनि नपाएको र तीन वर्षदेखि काम गरेको ज्याला समेत नपाएको गुनासो उनीहरूको छ ।

जलविद्युत उत्पादनको पर्याप्त सम्भावना भएको कर्णालीमा यस्ता साना तथा ठूला थुप्रै आयोजना अलपत्र परेका छन् । कर्णालीकै धेरै नागरिक भने विद्युतको पुहँचमा छैनन् । विद्युत उत्पादनले विद्युतिकरणमा मात्रै सघाउँदैन, आर्थिक आम्दानीको समेत स्रोत हो । त्यसैले अपरपराजुली खोलामाजसरी निर्माण हुँदाहुँदै अलपत्र परेका आयोजनालाई अघि बढाउनेतर्फ सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २५ असार २०८०, सोमबार ०५:०३