चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । चोरीको आरोपमा आइतवार विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोप लागेको छ । बिहीवार वडाध्यक्ष विष्टसहित तीन जनाले उपभोक्ता समितिको रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो । विष्ट, सुशील गुरुङ र बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।

आरोपित गुरुङ र शाहीलाई प्रहरीले शनिवार नै पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार उनीहरूले वडाध्यक्षलाई दुई लाख रकम दिएको स्वीकारसमेत गरेका छन् । अध्यक्ष विष्टले भने आफूमाथि झुठो आक्षेप लगाएर प्रतिशोध साँधिएको जिकिर गर्दै आएका छन् ।

प्रकाशित मितिः   २५ असार २०८०, सोमबार ०५:०१