अपरपराजुली आयोजना अलपत्र
सुर्खेत: दैलेखस्थित २.५ मेगावाट क्षमताको अपरपराजुली जलविद्युत आयोजना अलपत्र परेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ ब्युराखेतमा निर्माण थालिएको आयोजनाको काम ६ वर्षयता ठप्प छ । विद्युत निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यसहित निर्माण थालेको थियो । तर विगत ६ वर्षदेखि काम अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन भएको छ ।
डुंगेश्वर र गुराँस गाउँपालिकाको सिमानामा रहेको पराजुली खोलामा विद्युत उत्पादन गर्न आठ वर्षअघि रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीले काम सुरु गरेको होे । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको योजना अघि बढ्न सकेन । यसका सञ्चालकहरूमा नरसिंह मल्ल, हिमेन्द्र सिलवाल, शंखरलाल वैध र मंगल विश्वकर्माको नाम देखिन्छ । चार किलोमिटर लामो नहरबाट २.५ मेगावाट विद्युत निकालेर राष्ट्रिय प्रशारण लाइनमा जोेडेर राम्रो आम्दानी लिने भनी स्थानीयसँग करोडौँ रूपैयाँ शेयरका नाममा असुलसमेत गरिएको थियो । तर, कम्पनीका सञ्चालकहरू सम्पर्कविहीन हँुदा ६ वर्षदेखि स्थानीयहरू ठगीमा परेको भन्दै चिन्तित बनेका छन् ।
तीन वर्षभित्र निर्माण सकेर विद्युत उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना अलपत्र पारेर आयोजना प्रमुख नै सम्पर्कविहीन बनेको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए । आयोजना प्रभावित नागरिकले क्षेतिपूर्तिको पहल गरिदिन पालिकासँग अनुरोध गरेको केसीले जानकारी दिए । उनले भने, ‘आयोजनाको करिब ९० प्रतिशत काम सकिएको छ । दश प्रतिशत काम अलपत्र छोडर आयोजना प्रमुख सम्पर्कविहीन भएका छन् ।’ एक सयभन्दा बढी स्थानीयले ५० हजारदेखि पाँच लाखसम्मको सेयर खरिद गरेका छन् । विद्युत आयोजनामा डुङ्गेश्वर गाउँपालिकाले २५ लाख रूपैयाँ लगानी गरेको छ । आफ्नै पालिकाभित्र निर्माण भइसकेको आयोजनामा लगानी गरेर जनतालाई सस्तोमा विद्युत उपभोग गर्न दिने नीति लिएको भएपनि काम अलपत्र हुँदा थप समस्या उत्पन्न भएको उनले बताए । आयोजनाको काम २०७२ सालबाट सुरु गरिएको थियो ।
प्रभावितले मुआब्जा पाएनन्
स्थानीयले काम गरेको ज्याला, जग्गाको मुआब्जा, ठेकेदारको सामग्री खरिद भुक्तानी र रासनबापत करोडौँ रकम कम्पनीले भुक्तानी गर्न बाँकी छ । आयोजना प्रभावित क्षेत्रका नागरिकले जग्गाको मुआब्जा पाएका छैनन् । डुङ्गेश्वर गाउँपालिका वडा नं. ३ र ४ का ६५ घरपरिवार प्रभावितले मुआब्जा नपाएका हुन् ।
घरबारीको मुआब्जा नपाएका पीडित परिवार यतिबेला समस्यामा परेका छन् । मुआब्जा नपाएको र जग्गा पनि उपभोग गर्न नपाएको डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ का स्थानीय पूर्णबहादुर बुढाले बताए । स्थानीयले काम गरेको ज्याला र मुआब्जा नदिएर आयोजना प्रमुख फरार भएको उनको भनाइ छ । ‘त्यही माटोको उब्जनीले वर्षभरी परिवारको पेट पालियो’ उनले भने, ‘अहिले खेतबारी तहसनहस भयो मुआब्जा पनि पाएनौँ । न जग्गाको पैसा दिएर अन्त जाने बाटो खोलिदिन्छ, न आफ्नै जमिन उपभोग गर्न दिन्छ ।’ आयोजनाबाट पीडित उनले आफूहरू निकै समस्यामा परेको बताए । आठवर्षदेखि जग्गाको मुआब्जा पनि नपाएको र तीन वर्षदेखि काम गरेको ज्याला समेत नपाएको उनको भनाइ छ ।
वडा नं. ४ कै चक्र विसीले आफूहरूलाई आयोजनाले मुआब्जा दिन आनाकानी गरेको र अहिले काम नै छोडेर आयोजना प्रमुख फरार हुँदा थप समस्या परेको बताए । निर्माण सुरु गरेको लामोसमयसम्म विभिन्न बहानामा आफूहरूको रोजीरोटी समेत गुमेको उनको भनाइ छ । उनले भने, ‘आयोजनाले पहिला मुआब्जा दिन मानेन । अहिले आयोजना प्रमुख नै फरार भएका छन् । हामीले न त आफ्नो जग्गा उपभोग गर्न पाएको छौँ न त पैसा नै दैनिक गुजरा चलाउन समेत धौँ–धौँ भइसक्यो ।’
सोही वडाकी सीता रावतले आफूहरू अन्यायमा परेको बताइन् । डेढ वर्षदेखि काम छोडेर आयोजना प्रमुख सम्र्पकविहीन हुँदा मुआब्जा पाउने आशसमेत मरेको उनको भनाइ छ । उनले भनिन्,‘आयोजना नै अलपत्र बनेको छ । हामीले कसरी मुआब्जा पाउला, अब त आशसमेत लाग्न छाड्यो ।’
रजनी याेगी ।