खेलकुदमा अघि बढ्दै कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी, प्रदेश रंगशालामा ६० प्रतिशत प्रगति

सुर्खेत: गत जेठमा कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल ग¥यो । जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पा¥यो । पर्याप्त पूर्वाधार, प्रशिक्षण र प्रतियोगिताविना नै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै नेपाली क्रिकेटमा कर्णालीको बलियो उपस्थिति दाबी गर्न सफल भएको हो ।

त्यसअघि वैशाखमा काठमाडौंमा भएको १३औँ केन्द्रीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा समेत कर्णालीले चार स्वर्णपदकसहितको उपलब्धि हात पारेको थियो । मधेस र गण्डकी प्रदेशलाई पछाडि पार्दै चार स्वर्ण, तीन रजत र १० कास्यसहित जम्मा १७ वटा पदकमा कर्णालीले बाजी मार्‍यो । त्यति मात्रै होइन पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत कर्णालीले दुई वटा स्वर्णपदकसहित चार रजत र १२ कास्य गरी १८ वटा पदक प्रदेशमा भिœयाउन सफल भएको थियो ।

खेलकुदमा कर्णाली प्रदेशले हात पारेका उपलब्धिका पछिल्लो दृष्टान्त हुन्, यी । पछिल्लो समय कर्णालीको खेल क्षेत्र चलायमान मात्रै भएको छैन, प्रदर्शन र नतिजामा समेत सफलता हात पार्न थालेको छ । त्यसो त प्रदेशमा पर्याप्त खेल पूर्वाधारको विकास भएको छैन । खेलाडीहरूको अथक मेहेनत र न्यून लगानी तथा प्रशिक्षणमै राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सहभागी भएर पद जित्ने गरेका छन् ।

प्रतियोगिताहरूमा खेलाडीहरूले धमाधम उपलब्धि हात पार्न थालेपछि खेलकुद पूर्वाधार विकासका लागि लगानी गर्न थालिएको छ । कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि लक्षित गरेर दुई वर्षयता पूर्वाधार विकास भइरहेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रंगशालाको ६० प्रतिशत काम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्का अनुसार ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तीय प्रगति भएको छ । रंगशाला निर्माणको काम धमाधम चलिरहेको छ । हालसम्म रंगशालामा दर्शकका लागि प्याराफिट बनाइएको छ । जसमा चार हजार कुर्सीको जडान कार्य सम्पन्न भएको छ । यस्तै भीआईपीतर्फको प्याराफिट निर्माण कार्यको अन्तिम चरणमा रहेको छ भने फिनिसिङ र छाना निर्माण कार्य बाँकी छ ।

त्यसैगरी रंगशालामा पौडीपोखरी, व्यावसायिक सटर गेट निर्माण कार्यको सिभिल स्ट्रक्चर कार्यको अन्तिम चरण तथा फुटबल मैदानमा दुबो लगाई स्तरवृद्धिको काम भइरहेको छ । यसैगरी एथलेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण सम्पन्न भई रुख रोप्ने र हरियाली गर्ने कार्य जारी छ । निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै अगाडी बढेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

अहिलेसम्म रंगशालामा ६५ करोड ८५ लाख रकम खर्च भएको परिषद्ले जनाएको छ । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २० मंसिर २०७८ मा रंगशालाको शिलान्याश गरेका थिए । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँ लागत रहेको रंगशाला निर्माणको जिम्मा पाएको एमएसी–जिएसएल कम्पनीले पनि तोकिएको समयमै रंगशालान सम्पन्न गर्ने दाबी गरेको छ । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइँदैछ । परिषद्का सदस्य सचिव सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

प्रादेशिक रंगशाला निर्माणको काम चलिरहे पनि राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक अन्य पूर्वाधार निर्माणमा भने बजेट अभाव भएको छ । सदस्य सचिव सञ्ज्यालले प्रदेश सरकारले छुट्याएको बजेट पूर्वाधार निर्माण र १०औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार गर्न अपुग हुने जनाए ।

यसैबीच दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि विभिन्न खेलहरूलाई वर्गीकरण गरेको छ । परिषद्को १३औँ बोर्ड बैठकले (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । (क) श्रेणीमा एथलेटिक्स, उसु, आइटिफ, कराँते र तेक्वान्दो गरी पाँच वटा रहेका छन् भने (ख) श्रेणीमा बक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बास्केटवलसहित सात खेल रहेका छन् । यस्तै (ग) श्रेणीमा १० वटा खेल छन् । कबडी, क्रिकेट, खोखो, व्याडमिन्टन, भलिबल, भारोतलोन, फुटबल, सुटिङ, सेपाताको र पौडी खेल उक्त श्रेणीमा छन् ।

प्रदेश सरकारले आगामी वर्ष प्रदेश खेलकूद अन्तर्गत चालुतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ९१ करोड ८० लाख गरी जम्मा एक अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ । जसमा निर्माणाधीन प्रदेश रंगशालाको लागि ८५ करोड छ । हुम्लामा हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कबर्ड हल निर्माणका लागि ३० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि दुई करोड, चिसापानि खेल मैदान निर्माण सुर्खेतका लागि २४ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै सुर्खेतमा रहेको मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, चौरहजारी क्रिकेट मैदान निर्माण रूकुम–पश्चिममा ६० लाख, कालिञ्चोक खेल मैदान निमार्ण सुर्खेतमा २५ लाख, जिल्लास्तरीय खेलकुद मैदान निर्माणमा दुई करोड, कुदु रंगशाला निर्माण जाजरकोटमा १५ लाख, दशाँै राष्ट्रिय खेलकुद तयारीका लागि ७० लाख, प्रदेशस्तरिय तयारी तथा प्रशिक्षणको लागि चार करोड ७० लाख र मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमाका लागि एक करोड १० लाख बजेट विनियोजन गरिएको छ । यद्यपि, यो बजेट न्यून रहेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए ।

प्रकाशित मितिः   २५ असार २०८०, सोमबार ०५:०५