विद्रूप विभेद

असार १७ गते जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा आगजनी भयो । नेपालीले विवाहका लागि गाउँकै गिरी थरकी युवती भगाएपछि केटी पक्षले उनको घरमा आगो लगाइ दिएका हुन् । युवतिका दाई हिक्मत गिरीले आगो लगाएको प्रहरीले जनाएको छ । उनी पक्राउसमेत परिसकेका छन् । जातीय विभेदको विद्रूप तस्विर देखाउने पछिल्लो दृष्टान्त हो, यो । कर्णाली प्रदेशमा यस्ता विभेदका अनेक घटना भइरहन्छन् । अन्तरजातीय विवाह गरेकै कारण दलित समुदायको घरमा आगजनी गर्नेदेखि हत्यासम्मका घटना भएका छन् ।

तीन वर्षअघि मात्रै जाजरकोटको नवराज विकले अन्तरजातीय विवाह गर्न खोज्दा पाँच जना साथीहरूसहित ज्यान गुमाउन पुगे । मल्ल थरकी युवतीसँग भएको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न रुकुम–पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोती पुगेकाका बेला युवतीका आफन्तको आक्रमणमा परेर उनीसहित ६ जनाले ज्यान गुमाएका हुन् । २०६८ सालमा चुलो छोएको निहुँमा कालीकोट जुविथास्थित माइधाराका मनवीरे सुनारले अकालमै ज्यान गुमाए । शाही ठकुरी परिवारका दुई जनाले कुटपिट गरी उनको हत्या गरेका थिए । यसरी कर्णालीमा जातीय विभेदले जघन्य अपराध निम्त्याउने गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण मारिनुपर्ने, गाउँ निकाला हुनुपर्ने, कुटपीटलगायतका घटनामा बढोत्तरी हँुदै गएको छ । पछिल्लो समय जातीय विभेदका घटनामा वृद्धि भइरहेको छ । कम मुद्दा दर्ता हुने भएपनि जातीय विभेदका कारण मानव अधिकार उल्लंघनका धेरै घटना भइरहेको छ । जातीय विभेदका घटना कानुनी प्रक्रियामा कमै मात्र आउने गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा ६ वटा जातीय विभेदका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा चार वटा, आर्थिक वर्ष २०७७÷०७८ मा सात वटा, आर्थिक वर्ष २०७८÷०७९ मा तीन वटा वटा जातीय विभेदका मुद्दा दर्ता भएका थिए । प्रहरीका अनुसार गम्भीर प्रकृतिका घटना मात्र प्रहरीमा दर्ता हुने गरेका छन् ।

जातीय विभेद छुवाछुत कानुले बन्देज गरेको छ । छुवाछुत तथा भेदभाव कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । संविधानको दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय व्यवस्था गरिएको छ । छुवाछुत तथा भेदभाव गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजायको व्यवस्था छ ।

प्रकाशित मितिः   २१ असार २०८०, बिहीबार १४:१२