बजेट पुस्तक नहुँदा छलफल प्रभावित

सुर्खेत: कर्णाली प्रदेशसभाको बैठकमा बुधवार सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सचिवालयका लागि विनियोजित बजेटमाथि छलफलको कार्यसूचि थियो । तर छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक नै सदस्यहरूले पाएनन् । पुस्तक नहुँदा मन्त्रालयको बजेटमाथिको छलफल प्रभावित भएको छ ।

 

छलफलअघि नै सभा सदस्यहरूको हातमा बजेट पुस्तक पुगिसक्नुपर्नेमा त्यसो नभएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले आपत्ति जनाएका थिए । एमाले सांसद जितबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे । ‘बजेटमाथिको छलफल भनिएको छ, सबै माननीयको हातमा विषयगत मन्त्रालयका किताबहरू प्राप्त भएको छैन,’ उनले भने, ‘सम्भवत एक दिन अगाडि, भएसम्म समय मिलाएर अध्ययन गर्न सक्ने वातावरण मिल्ने गरी किताब दिनुपर्छ । त्यसपछि मात्रै सल्लाह, सुझाव दिनुपर्ने हो ।’ सबैभन्दा धेरै कार्यालय रहेको सामाजिक विकास मन्त्रालयको बजेट किताब अहिलेसम्म प्राप्त गर्न नसकिएको भन्दै उनले बैठक रोक्न आग्रह गरे ।

एमालेकै प्रमुख सचेतक टेकराज पछाईले पनि किताब प्राप्त नभइकनै छलफल चलाइनु उपयुक्त नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे । लगत्तै सत्तापक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुस्तक नआएको विषय हटाएर आएको विषयमा छलफल गर्न सभामुखलाई आग्रह गरे । त्यसपछि सभामुख नन्दा गुरुङले कार्यसूची हेरफेर गरेर छलफल अघि बढाएकी थिइन् । गुरुङले सामाजिक विकास मन्त्रालय र प्रदेसभाको बजेटमाथिको छलफलको कार्यसूची हटाएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छलफल अगाडि बढाइन् । छलफलमा भाग लिँदै हिक्मतबहादुर विष्ट र कल्याणी खड्काले बजेटमा सुधार गर्नुपर्ने कुरा उठाएका थए ।

 

प्रकाशित मितिः   २१ असार २०८०, बिहीबार १४:१०