पानीमा लगानी
दैलेखको नौमुले गाउँपालिकामा चार वटा जलविद्युत आयोजना सञ्चालन हुँदैछन् । चारमध्ये दुई वटा आयोजनाको निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरेर धमाधम बिक्री गर्न थालिसकेका छन् । बाँकी दुई वटा निर्माणकै क्रममा छन् । नौमुले बजार नजिकै रहेका पदमखोला र द्वारीखोला हाईड्रोपावरबाट आठ मेगावाट विद्युत उत्पादन गरेर बिक्री वितरण भइरहेको छ ।
द्वारीखोलामा २०७० मा आयोजना निर्माण सम्पन्न गरेको थियो । त्यसयता आयोजनाले विद्युत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ । उक्त आयोजना ३.६७ मेगावाट क्षमताको हो । यस्तै पदमखोला हाइड्रोपावरले २०७३ सालमा आयोजना निर्माणको काम सम्पन्न ग¥यो । चार मेगावाट क्षमताको उक्त आयोजनाले पनि विद्युत उत्पादन गरेर बिक्री वितरण गर्दै आइरहेको छ । कर्णाली क्षेत्रमै पहिलो पटक दैलेखबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि स्थानीयले रोजगारी पाएका छन् भने सिँगो गाउँ उज्यालिएको छ । भौगोलिक विकटता र विकास पूर्वाधार निर्माणमा पछि परेको गाउँपालिकामा वर्षौदेखि बगेर खेर गइरहेको खोलाको उपयोग भएको छ । नौमुलेमै निर्माणाधिन अपर लोहोरे जलविद्युत आयोजनाको काम भने अन्तिम चरणमा पुगेको छ । निर्माणको ७० प्रतिशत काम सकिएको छ । २०७७ सालमा आयोजनाको सर्वे भएको थियो । २०७८ सालमा निर्माण सुरु गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । चार मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले आगामी तीन महिनाभित्र विद्युत उत्पादन गरेर बिक्री गर्ने तयारी गरेको छ । ड्याम निर्माण र पावरहावस निर्माण सम्पन्न भइसकेको छ । हाल पाइप लाइन विस्तार गर्ने काम भइरहेको छ । नौमुले गाउँपालिकामै निर्माण थालिएको लोवर लोहोरे जलविद्युत आयोजनामा भने विवादका कारण काम अघि बढ्न सकेको छैन । आयोजना प्रभावित क्षेत्रका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको छ । २०६७ सालमा सर्वे अनुमति लिए पनि काम सुरु हुन सकेको छैन ।
नौमुले गाउँपालिका विद्युत उत्पादनको पावरहब बन्दै गएको छ । कर्णाली क्षेत्रमा पहिलो पटक दैलेखबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ । नौमुले त उदाहरण मात्रै हो, कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर त्यसमा पर्याप्त लगानी हुन सकेको छैन । लगानी नहुँदा जलस्रोतको उपयोग हुन सकेको छैन । विकासमा पछि परेको कर्णालीको समृद्धिका लागि पानीमा लगानी सबैभन्दा उत्तम विकल्प हुन सक्दछ । जलविद्युतको उत्पादन र विक्रीबाट प्रदेशका साथसाथै मुलुककै आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ । त्यसैले सरकारले लगानीमैत्री वातावरण बनाउँदै कर्णालीका साना तथा ठूला जलविद्युत आयोजना निर्माणमा ध्यान दिन जरुरी देखिन्छ ।
प्रकाशित मितिः २० असार २०८०, बुधबार ०७:३४
सम्पादकीय ।