राजी समुदायलाई सीप विकास तालिम

सुर्खेत: पञ्चपुरी नगरपालिकाका राजी समुदायलाई सीप विकास तालिम प्रदान गरिएको छ । उत्तरगंगा सीप विकास प्रशिक्षण केन्द्रको आयोजना तथा पञ्चपुरी नगरपालिकाको सहयोगमा हस्तकलाका सामग्री निर्माणसम्बन्धी तालिम दिइएको हो ।

पञ्चपुरी–१० मा बसोबास गर्ने राजी समुदायका १५ जना महिलाहरूलाई १२ दिने तालिम दिइएको हो । मकैको खोस्टाहरूबाट हस्तकलाका सामग्री उत्पादन गर्ने सीप सिकाइएको मध्यपश्चिम ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरका विनोद लम्सालले जानकारी दिए । उनका अनुसार हस्तकलाका सामग्री निर्माण सँगसँगै मौरीपालनसम्बन्धी पनि तालिम प्रदान गरिएको छ ।

यसैबीच मौरीपालन तालिम लिएका १५ जनाइ मौरीसहितका घारसमेत वितरण गरिएको छ । बुधवार तालिम समापन समारोहमा दुई/दुई घार र मह छान्ने मेसिन लगायतका सामग्री वितरण गरिएको हो ।

तालिम समापन कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले सीप सिकेका महिलाहरूलाई रोजगारीमा लाग्न आग्रह गर्दै मेहनत गरेमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । स्थानीय कच्चा पदार्थलाई प्रयोग गरी सामग्री उत्पादन गरेर फाइदा लिन सकिने भएको हुँदा यसका लागि सबैले सक्रिय भएर लाग्न उनले अनुरोध गरे । राजी समुदायका महिलाहरूले मकैका खोस्टाबाट उत्पादन गरेका गिफ्ट सामग्रीको बजारीकरणका लागि वडा र नगरपालिकाले पहल गर्ने समेत भण्डारीले जनाए ।

प्रकाशित मितिः   २१ असार २०८०, बिहीबार १४:१३