१४ हजार विरुवाको लोभलाग्दो स्याउ बगैंचा

जुम्ला: यतिबेला तराईमा प्रचण्ड गर्मी छ । पुस–माघमा हिमाल छोड्नेहरु अहिले फर्कदैछन् । तराईको फाँटमा गर्मीले सताइरहँदा हिमालको सिरसिरे बतासले साथ दिँदै छ । कठ्यांग्रिदो जाडो काटेर अनुकूल मौसम पाएका जुम्ली किसान अहिले फलेका स्याउ बगैँचा हेरेर दंग छन् ।

कृषिमा आधुनिकीकणको लहरले जुम्लालाई पनि छोएको छ । केही वर्ष यता इटालिएन जातको फुजी स्याउ खेती आक्रमक रूपले बढिरहेको छ । लोभ लाग्ने फुजी स्याउका बगैँचाले कृषि पर्यटनको रेखा कोर्दैछन् । व्यावसायिक स्याउ खेतीले कृषि पर्यटनको आधार तयार गरिरहेको छ । गुठिचौरको विशाल स्याउ बगैँचा त्यस्तै एक उदाहरण हो ।

समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाईमा अवस्थित मिनि गुठिचौरमा १४ हजार बिरुवाको एकीकृत स्याउ बगैंचा छ । २२ हेक्टर क्षेत्रफलमा रोपिएका १४ हजार फुजी स्याउले कृषि क्रान्तिको विगुल फुकेको आभाष दिलाउँछ ।
हिमाली टि एण्ड एग्रो फार्मले आगमी वर्ष ४१ हजार विरुवा रोप्ने तयारी गरेको छ । प्रत्येक दिन १६ जना कर्मचारीको रेखदेखमा बगैँचा व्यवस्थित बन्दै छ । स्वदेशमा हिरा फलाउने सपना देखेर हिमाली टि एण्ड एग्रो फार्म सञ्चालन गरेका टंक गिरी आंशिक उद्देश्य पुरा भएको बताउँछन् । यद्यपि, बगैँचा विस्तारले निरन्तरता पाउने छ । ‘किसानको नाताले कृषि पेसालाई मर्यादित र व्यवस्थित बनाउने योजना अनुरूप ५५ हजार विरुवा रोप्ने लक्ष्यका साथ बगैंचा स्थापना गरिएको हो, यो वर्ष ५० टन उत्पादन गर्ने लक्ष्य राखिएको छ’ उनले भने । ३० वर्षसम्म भाडामा लिएको जग्गामा स्थापित बगैँचाले रोजगार सृजना, कृषि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उनको विश्वास छ ।

दिनानुदिन युवा विदेश पलाएन भइरहँदा कृषिमा आधुनिकीकरणको यो प्रयासले सुखद् सन्देश दिएको युवा लक्ष्मण सुनारले बताए । हिमाली टि एण्ड एग्रो फार्मको यो अभ्यासले आशा र निराशाको समिश्रण बोकेको गुठिचौर गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष अर्जुन कुमार महताराले बताए । ‘यो बगैंचाले एकातिर रोजगारी सिर्जना र कृषि पर्यटनको चमक दिएको छ, अर्कोतिर फुजी स्याउ बिमाभित्र नपर्ने भएकोले जोखिम पनिछ, आशा र निराशाको बिच्च बिच्चमा छ, मिनि गुठिचौरको फुजी स्याउ बगैँचा’ वडा अध्यक्ष महताराले भने ।

बगैँचा हिमालको छेउमा भएकोले असिनाको जोखिम रहेको फार्मका प्राविधिक हिक्मत रोकायाले बताए । प्राकृतिक जोखिमबाट किसान सुरक्षित हुनका लागि फुजी स्याउलाई बिमाको दायराभित्र ल्याउन सरकारी प्रयास आवश्यक रहेको उनले बताए । जुम्ला अर्गानिक जिल्ला भएकोले उत्पादन बढाउन जैविक मल कारखाना खोल्नु आवश्यक रहेको उनले बताए ।

जुम्लाको भविष्य स्याउ ओखरमै रहेको कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । व्यावसायिक स्याउ खेतीबाट मात्रै किसानको गुणस्तरीय जीवन सम्भव रहेको उनले बताए । किसानका उन्नती र विकासका लागि गाउँपालिका सचेत रहेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर विष्टले बताए ।

प्रकाशित मितिः   २० असार २०८०, बुधबार ०५:०१