भेरी–बबईमा विलम्ब

राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो । तर पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि तीन वर्ष म्याद थप गरिएको हो । आर्थिक वर्ष २०७१÷०७२ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो । सम्झौताअनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर निर्धारित लक्ष्यअनुसारको समयावधि सकिन करिब दुई साता बाँकी रहँदासम्म आयोजनाको ४० प्रतिशतभन्दा बढी काम बाँकी नै छ । तीन वर्ष म्याद थपेर आयोजना निर्माण कार्य भने धमाधम चलिरहेको छ । गत चैतमा आयोजनाको म्याद थपिएको हो ।

म्याद थप भएसँगै आ.व. २०७९÷०८० मा हुनुपर्ने कार्यहरूको दायित्व आ.व. २०८२/०८३ सम्म सरेको छ । कोरोना महामारीको असर, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम, सामान ढुवानीमा ढिलाइलगायतका कारण यसअघिको निर्धारित समयमा हुनुपर्ने कार्यहरूको दायित्व पछिल्लो समयमा सारिएको जनाइएको छ । यद्यपि, आर्थिक वर्ष २०८२/०८३ सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पहिलो चरण अन्तर्गत टनेल निर्माण कार्य २०७५ मा सम्पन्न भइसकेको छ । पहिलो चरणको काम निर्धारित म्यादअगावै सकिएको थियो । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । २०७६ मंसिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो । आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको छ । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० मा सक्ने कार्यादेश पाएपनि समयमै काम हुन नसकेपछि लक्ष्य सरेको छ । दोस्रो चरणको काम सुरु भएको चार वर्षमा ४४ प्रतिशत भौतिक प्रगति भएको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य भइरहेका छन् ।

दोस्रो चरण अन्तर्गतको मूख्य कामहरू सकिएपछि आयोजनाको तेस्रो चरण अन्तर्गतको काम पनि तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकलसम्बन्धी काम यो चरणमा हुनेछन् । तेस्रो चरणको काम २५ प्रतिशत सम्पन्न भएको छ । तेस्रो चरणसम्म आइपुग्दा आयोजनाको भौतिक प्रगति ६० प्रतिशत हासिल भएको जनाइएको छ । वित्तीय प्रगति भने करिब ५५ प्रतिशत हासिल भएको छ । आयोजना निर्माण सम्पन्न भएमा ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराइनेछ । यो बहुउद्देश्यीय आयोजना निर्माणको बाँकी प्रक्रियामा भने ढिलाइ नगरी काम अघि बढाउन जरुरी छ ।

प्रकाशित मितिः   १४ असार २०८०, बिहीबार १६:०१