भेरी–बबई आयोजना

निर्माण सकिन तीन वर्ष लाग्ने

सुर्खेत: चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीन वर्ष पर धकेलिएको छ । पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि तीन वर्ष म्याद थप गरिएको हो ।

आर्थिक वर्ष २०७१/०७२ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो । सम्झौताअनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर निर्धारित लक्ष्यअनुसारको समयावधि सकिन करिब दुई साता बाँकी रहँदासम्म आयोजनाको ४० प्रतिशतभन्दा बढी काम बाँकी नै छ ।

तीन वर्ष म्याद थपेर आयोजना निर्माण कार्य भने धमाधम चलिरहेको छ । गत चैतमा आयोजनाको म्याद थपिएको हो । आ.व. २०७९/०८० मा हुनुपर्ने कार्यहरूको दायित्व आ.व. २०८२/०८३ सम्म सरेको छ । अबको तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए । ‘विभिन्न प्रतिकूलताहरूका कारण निर्माण कार्य पर धकेलिएको हो’ उनले भने । कोरोना महामारीको असर, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम, सामान ढुवानीमा ढिलाइलगायतका कारण यसअघिको निर्धारित समयमा हुनुपर्ने कार्यहरूको दायित्व पछिल्लो समयमा सारिएको सुवेदीले जनाए । यद्यपि, आर्थिक वर्ष २०८२/०८३ सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

दोस्रो चरणमा ४४ प्रतिशत प्रगति

आयोजनाको पहिलो चरण अन्तर्गत टनेल निर्माण कार्य २०७५ मा सम्पन्न भइसकेको छ । पहिलो चरणको काम निर्धारित म्यादअगावै सकिएको थियो । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । २०७६ मंसिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो ।

आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको छ । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९÷०८० मा सक्ने कार्यादेश पाएपनि समयमै काम हुन नसकेपछि लक्ष्य सरेको छ । दोस्रो चरणको काम सुरु भएको चार वर्षमा ४४ प्रतिशत भौतिक प्रगति भएको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य भइरहेका छन् ।

तेस्रो चरणको काम तीव्र

दोस्रो चरण अन्तर्गतको मूख्य कामहरू सकिएपछि आयोजनाको तेस्रो चरण अन्तर्गतको काम पनि तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकलसम्बन्धी काम यो चरणमा हुनेछन् ।

हाइड्रो मेकानिकलसम्बन्धी काम गर्न चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार नौ सय १६ रूपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । यसका साथै इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण एवम् जडान कार्यहरू भइरहेका छन् । निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । तेस्रो चरणको काम २५ प्रतिशत सम्पन्न भएको सुवेदीले जानकारी दिए ।

भौतिक प्रगति ६० प्रतिशत

तेस्रो चरणसम्म आइपुग्दा आयोजनाको भौतिक प्रगति ६० प्रतिशत हासिल भएको जनाइएको छ । सूचना अधिकारी सुवेदीका अनुसार पहिलो चरण सकिएर दोस्रो तथा तेस्रो चरणका काम भइरहेका छन् । वित्तीय प्रगति करिब ५५ प्रतिशत हासिल भएको छ ।

त्यसैगरी आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ कूल लागतमध्ये हालसम्म १६ अर्ब २८ करोड खर्च भइसकेको उनले जानकारी दिए । चालूतर्फ १६ करोड बजेट खर्च भएको छ भने पुँजीगततर्फ १६ अर्ब १२ करोड बजेट खर्च भएको छ ।

आयोजना निर्माण सम्पन्न भएमा ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।

प्रकाशित मितिः   १३ असार २०८०, बुधबार ०५:०५