फुकोटको गाँठो

कर्णाली प्रदेशको अर्को ठूलो जलविद्युत आयोजना निर्माण प्रक्रियामा जान ढिलाइ भएको छ । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लगानीकर्ता जुटाइसक्दा पनि अन्य प्रक्रियागत ढिलाइ कायमै छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृतिमा ढिलाइ भएको हो । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन उक्त मन्त्रालयले स्वीकृत गरेको छैन । इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन । २०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चार वर्ष लगाएर तयार भइसकेको छ । सन् २०२२ मै डीपीआरको काम सकिएको थियो । डीपीआर र इआइएको काम सम्पन्न भएको छ तर प्रतिवेदन मन्त्रालयमा अड्किएको छ ।

प्रतिवेदन तयार पारेर सात महिनाअघि नै विद्युत विकास विभागमा बुझाइएको थियो । विभागले अध्ययनपश्चात् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठायो । मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । तर वन मन्त्रालयले प्रतिवेदन स्वीकृत नगरी थन्क्याएको छ । पाँच वर्ष निर्माणको समयावधि तोकिएको यो आयोजनाको समय गणना भने जेनेरेसन लाइसेन्स पाएको मितिबाट सुरु हुने छ । आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा अब भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको पनि लगानी हुनेछ । भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडले लगानी गर्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गत महिना नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा गरी सोहीमार्फत आयोजना निर्माणको काम अघि बढाउने छन् । एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको व्याजदरसहित ९२ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

यसअघि माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पनि भारतीय कम्पनीले नै पाएको छ । तर लगानी जुटाउन नसकेर लामो समयदेखि आयोजना सञ्चालन हुन भने सकेको छैन । फुकोट कर्णाली पनि भारतीय कम्पनीलाई दिँदा नागरिक तहमा आशंका पैदा भएको छ । यद्यपि, अहिलेसम्म आन्तरिक प्रक्रियागत ढिलाइले काम अघि बढ्न सकेको छैन । यस्ता समस्या समाधान गरेर आयोजना निर्माण कार्य अघि बढाउन जरुरी छ ।

प्रकाशित मितिः   १२ असार २०८०, मंगलवार ०५:०३