मुगु कर्णाली जलविद्युत आयोजना

पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा

सुर्खेत: कर्णाली प्रदेशमा प्रस्तावित सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको पूर्वसम्भाव्यता (प्रि–फिजिविलिटी) अध्ययनको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको क्षेत्रनिर्धारण र कार्यसूची प्रतिवेदन तयार गरेर विद्युत विकास विभागमा पेस गरिएको आयोजना प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए । विभागबाट प्रतिवेदन पास भए वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को अध्ययन सुरु हुनेछ । ‘पूर्वसम्भाव्यता अध्ययनको काम लगभग सकिएको छ । अब वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा अधिग्रहणलगायत अन्य चरणका काम सुरु हुनेछन्’ प्रमुख पाण्डेले भने ।

कर्णालीकै सबैभन्दा ठूलो आयोजना, एक हजार नौ सय दुई मेगावाट क्षमता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ असारमा विद्युत उत्पादन कम्पनी लिमिटेडलाई सर्वे लाइसेन्स दिएको थियो । लाइसेन्स पाएपछि २०७५ फागुनबाट कम्पनीले पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको हो । विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रमुख पाण्डेका अनुसार आयोजनाको कार्यालय बाजुराको बूढीनन्दा नगरपालिका वडा नं. ५ को बिरसैनमा स्थापना गरिनेछ । कार्यालय स्थापनका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । कम्पनीको अस्थायी प्रयोगशाला तथा कार्यालय बाजुराको पिलुचौरबाट सञ्चालन भइरहेको छ । हाल जलप्रवाह र सेडिमेन मापन कार्य भइरहेको छ ।

आयोजनाको क्षेत्र निर्धारणको काम भने सम्पन्न भएको छ । स्थलगत काम पूरा गरेपछि उक्त विद्युत आयोजनाको क्षेत्र निर्धारणको काम पूरा भएको हो । आयोजनाका लागि प्रभावित क्षेत्र निर्धारण कार्यमा स्थलगत रूपमै पुगेर सरोकारवाला पक्षसँग छलफलसमेत गरिएको आयोजना प्रमुख पाण्डेले जानकारी दिए ।

कर्णालीका चार जिल्ला प्रभावित हुने, क्षेत्रनिर्धारणको काम सम्पन्न

आयोजनाको प्रभावित क्षेत्रका लागि कर्णालीका चार र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला गरी पाँच वटा जिल्लाका एक नगरपालिका र ११ वटा गाउँपालिका छनोटमा परेका छन् । आयोजनाबाट हुम्ला जिल्लाका तीन स्थानीय तह प्रभावित हुनेछन् । जिल्लाको ताँजाकोट गाउँपालिकाका पाँच वटा वडासहित अदानचुली गाउँपालिकाका पाँच वटा र सर्केगाड गाउँपालिकाका आठ वटा वडा प्रभावित हुने जनाइएको छ ।

त्यसैगरी जुम्लाका दुई स्थानीय तह आयोजनाबाट प्रभावित हुने भएका छन् । जसमा जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ३, ६, ७ र ८ सहित सिंजा गाउँपालिका वडा नं. १ पनि जलविद्युत आयोजनाको प्रभावित क्षेत्र हो । मुगु जिल्लाको सोरु गाउँपालिकाका आठ वडा प्रभावित हुँदा खत्याड गाउँपालिकाको ११ वटै वडा र कालीकोटको पलाँता गाउँपालिका पनि आयोजनाबाट प्रभावित हुने क्षेत्रनिर्धारण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चार खर्ब रूपैयाँको लागत अनुमान

आयोजनाको ड्याम बाजुराको पिलुुचौरमा निर्माण गरिनेछ । जुन दुई सय ८५ मिटर अग्लो हुनेछ । ड्यामकै आसपासमा आयोजनाको पावर हाउस निर्माण हुने र त्यसका लागि पनि हाल अध्ययन भइरहेको छ । अध्ययनका सबै चरण पूरा भएपछि स्रोतको व्यवस्था गरिनेछ । स्रोत व्यवस्थापन भएमा दश वर्षभित्र आयोजना निर्माण सकिने आँकलन गरिएको छ । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएपछि आयोजना कस्तो हुने, पावरहाउस अण्डरग्राउण्ड, संरचनाहरू कस्ता निर्माण हुने भन्ने जानकारी हुनेछ ।

आयोजना निर्माण गर्न करिब चार खर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो आयोजनाबाट वार्षिक ५८८३.१० मेगावाट आवर विद्युत उत्पादन हुने छ । कर्णाली नदीमा सबैभन्दा माथि निर्माण हुने आयोजना हो, यो । त्यसभन्दा तलतिर अरु आयोजना समेत पहिचान भएका छन् । मुगु कर्णाली जलविद्युत आयोजना निर्माण सकिए त्यसभन्दा तलका आयोजनाहरूका लागि समेत फाइदा पुग्ने पाण्डेको भनाइ छ ।

प्रकाशित मितिः   १० असार २०८०, आईतवार ०५:०५