वैकल्पिक विमानस्थल
भेरीगंगा नगरपालिकाको रामघाटमा प्रस्तावित विमानस्थलको काम अघि बढ्ने भएको छ । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिसकिएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा पनि उक्त विमानस्थल निर्माणको योजनालाई समावेश गरेको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थलको विकल्पमा भेरीगंगामा विमानस्थल बनाउन संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी बजेटमा उल्लेख गरेको छ ।
सुर्खेत विमानस्थल विस्तार हुन नसकेपछि वैकल्पिक रूपमा भेरीगंगामा अन्तर्राष्ट्रियस्तरको प्रादेशिक विमानस्थल निर्माण गर्र्ने योजना अघि सारिएको हो । विमानस्थल निर्माणका लागि पूर्व अध्ययनका काम सम्पन्न भएका छन् । विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनलगायतका काम सम्पन्न भएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक भने भइसकेको छैन । प्रादेशिक विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन र (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । रामघाटमा २०७७ सालबाट विमानस्थल निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढाइएको हो । भेरीगंगा नगरपालिकाको वडा नं. ६, ९, १० र ११ को बिचमा विमानस्थल बनाउन प्रस्ताव गरिएको छ । सामुदायिक वनले सहमति दिइसकेको र व्यक्तिगत जग्गासमेत नरहेको हुँदा काम गर्न सहज हुनेछ । मुआब्जा दिनुपर्ने छैन । पूर्वसम्भाव्यता अध्ययनअनुसार विमानस्थलमा दुई हजार सात सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग निर्माण हुने जनाइएको छ । धावनमार्गमा समानान्तर दुई वटा एक हजार तीन सय ७५ मिटर लम्बाइ र ३० मिटर चौडाइको ट्याक्सी मार्ग हुनेछ । विस्तृत प्रतिवेदन आएपछि मात्र आधिकारिक रूपमा सबै निर्माणका काम अघि बढ्नेछ ।
संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पनि सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो । यता प्रदेश सरकारले समेत कर्णाली प्रदेशको दीर्घकालीन आवश्यकता परिपूर्तिका लागि भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण कार्य अगाडि बढाउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले उक्त कुरा उल्लेख गरेको हो । रामघाटमा विमानस्थल निर्माण गर्ने योजना अघि बढेपछि सुर्खेत विमानस्थल विस्तारको योजना भने ओझेलमा परेको छ । विमानस्थल योजना बन्ने तर अघि बढ्ने उदाहरण थुप्रै छन् । निर्माण भएकै कतिपय विमानस्थल सञ्चालन हुन सकेका छैनन् । त्यसैले वैकल्पिक विमानस्थलको रूपमा अघि सारिएको भेरीगंगास्थित विमानस्थल अघि बढ्छ या बढ्दैन भन्ने चैँ सरकारको प्राथमिकतामा निर्भर हुनेछ ।
प्रकाशित मितिः ६ असार २०८०, बुधबार ०५:०३
सम्पादकीय ।