बजेटको तयारी गर्दै पालिका

अनुदान कटौतीले योजना र प्राथमिकतामा प्रभाव

सुर्खेत: संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइसकेका छन् । तीन तहमध्ये सबैभन्दा तल्लो तहका स्थानीय सरकार भने यतिबेला नयाँ बजेट निर्माणमा जुटेका छन् । पालिकाहरू आगामी बजेटमा समावेश गरिने योजना र कार्यक्रम बनाउने अन्तिम तयारीमा छन् ।

बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट आएका योजनाहरूको प्राथमिकरण हुँदैछ । जनप्रतिनिधि र कर्मचारी त्यसैका लागि व्यस्त छन् । प्राथमिकताअनुसार योजना छनोट गर्ने र आवश्यक बजेट विनियोजनको लागि गृहकार्य भइरहेको छ । स्थानीय सरकारले असार १० गतेभित्र वार्षिक बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको विवरण तयार हुँदैछ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले असार १० गते नै नगरसभा आह्वान गरेर बजेट ल्याउने तयारी गरेको छ । नगरप्रमुख लालविर भण्डारीले सबै वडामा बस्तीस्तरीय भेला सकेर भेलाबाट आएका योजनाहरू वडामार्र्फत नगरसभामा पठाउने काम भइरहेको जानकारी दिए । ‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’ भण्डारीले भने, ‘बस्तीस्तरबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गछौँ ।’

सुर्खेतकै बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले पनि निर्धारित समयभित्रै बजेट ल्याउने तयारी भइरहेको जनाए । उनका अनुसार अहिले सबै वडाबाट आएका योजनाको विषयगत शाखामा छलफल भइरहेको छ । भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याइने भण्डारीले बताए ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको विषयगत शाखाहरूमा पनि यतिबेला टोलबाट आएका योजनामाथि छलफल चलिरहेको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी भइरहेको नगरप्रमुख हस्त पुनले बताए । विगतमाजस्तै आगामी आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रमै केन्द्रित गर्नेगरी बजेट ल्याउने तयारी भइरहेको उनको भनाइ छ । सो क्षेत्रसँग सम्बन्धित भएर भौतिक पूर्वाधार तथा बजार संरचना निर्माण गर्नेगरी योजना बनाइरहेको पुनले जनाए ।

बजेट निर्माणमा जुटिरहेका स्थानीय सरकार अनुदान कटौतीले निराश छन् । यसपटक संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान घटेकाले पालिकाको बजेटको आकारसमेत घट्ने भएको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण र राजस्व बाँडफाँडतर्फको बजेट घटेर आएकाले बजेटको परिधि खुम्चिएको पञ्चपुरीका प्रमुख भण्डारीले बताए । बजेटको सीमा कम हुँदा नागरिकका अपेक्षा अनुसार योजना छनोट गर्न र काम गर्न समस्या हुने उनको भनाइ छ । चालु आर्थिक वर्षको भन्दा बजेट घटाउनुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन् । भण्डारीले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ । संघ र प्रदेशबाट समेत अनुदान कटौती भएको छ । नागरिकका असीमित आवश्यकता छन् ।’ पालिकाको आन्तरिक आम्दानीसमेत न्यून छ ।

अनुदान कटौतीका कारण बजेटको आकार घट्नुका साथै प्राथमिकताक्रम फेरिने जनाए । उनले भने, ‘संघ र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान घटेर आएका छन् । आन्तरिक आम्दानीसमेत न्यून भएकाले बजेटको सीमा परिवर्तन गर्नुपरिरहेको छ ।’ नगरपालिकामा वित्तीय समानीकरणतर्फ दुई करोड बजेट घटेर आएको पुनले जनाए ।

अधिकांश पालिकाका जनप्रतिनिधिलाई अनुदान कटौतीले पिरोलिरहेको छ । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले वित्तीय समानीकरण र राजस्व बाँडफाँडतर्फको रकम घटेर आउँदा समस्या देखिएको बताए । उनले विशेष अनुदानको रकम शून्य रहेको जनाए । भेरीगंगाले चालु आर्थिक वर्षमा दुई करोड ९९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो । जसमध्ये हालसम्म दुई करोड राजस्व संकलन गरेको छ । आन्तरिक आम्दानी न्यून र अनुदानसमेत घटेर आएकाले चालु वर्षको भन्दा बजेटको दायरा कम हुने उनको अनुमान छ । यद्यपि, नागरिकका चाहनाअनुसार अधिकतम् योजना समेटेर बजेट बनाइने ढकालले जनाए ।

प्रकाशित मितिः   ६ असार २०८०, बुधबार ०५:०५