प्रदेशसभामा बजेटमाथि छलफल

सुर्खेत: कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल चलिरहेको छ । छलफलमाथि सभाका सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।

सत्तापक्ष दल नेपाली कांग्रेसका विजया बुढाले बजेटमा धेरै राम्रा योजना समावेश गरिएको बताइन् । कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) का रनसिंह परियारले आगामी वर्षको बजेटमा दलितलाई उपेक्षा गरिएको बताए । आरक्षणले मात्र दलितका अधिकार परिपूर्ति नहुने भन्दै दलित लक्षित बजेट समावेश गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिपक्ष दल नेकपा (एमाले) का जीतबहादुर मल्लले बजेटले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी गरे । नागरिकका हितमा बजेट नआएको भन्दै उनले नागरिकका सामान्य आवश्यकता समेत पूरा गर्न नसक्ने जनाए । कांग्रेसका घनश्याम भण्डारीले छलफलमा भाग लिँदै बजेटको समर्थन गरे । नागरिकको आवश्यकता अनुसार बजेट आएको भन्दै उनले कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) की कल्याणी खड्काले बजेट प्राथमिकताविहीन भएको जिकिर गरिन् । जनतालाई राहत हुनेगरी बजेट नआएको उनको भनाइ थियो । बिचौलियामार्फत आएको बजेट मान्य नहुने खड्काको भनाइ थियो ।

अर्का प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बजेटमा केही परिवर्तन गर्ने विषयसमेत भएको भन्दै सुधार गरेर कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । एमालेबाट प्रतिनिधित्व गर्ने सभा सदस्य टेकराज पछाईले बजेट परम्परागत र कर्मकाण्डी देखिएको बताए । सरकारले ल्याएको बजेट जनतामूखी नभइ कार्यकतामूखि भएको उनको भनाइ छ । बजेटमा वितरणमूखि र टुक्रे योजना समावेश गरिएकोे भन्दै बजेटको आधार र मार्गचित्र प्रष्ट नभएको बताए ।

बजेटमाथिको छलफल बुधावार पनि चल्नेछ । बुधवार दिउँसो तीन बजेट बैठक बोलाइएको छ । प्रदेश सरकारले ३३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।

प्रकाशित मितिः   ६ असार २०८०, बुधबार ०५:०२