यातायातको उचित विकल्प
हिमाली जिल्ला हुम्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भइसकेको छैन । त्यसैले यातायातको मुख्य माध्यम नै हवाई सेवा हो । जिल्ला सदरमुकाममा सिमकोट विमानस्थल छ । सोही विमानस्थलले नै जिल्लालाई अन्य जिल्लासँग जोडिरहेको छ । विगत चार दशकदेखि हुम्लामा हवाई सेवा सञ्चालन हुँदै आएको छ । तर विमानस्थल पूर्वाधारसम्पन्न नहुँदा हवाई सेवा पनि सुरक्षित र भरपर्दो हुन सकेको छैन । जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था कायमै छ ।
सदरमुकाममा रहेको सिमकोट विमानस्थल २०३६ सालबाट सञ्चालनमा आएको छ । २०३४ सालमा निर्माण थालेर २०३५ सालमा परीक्षण उडान गरिएको हो । त्यसको अर्को वर्षदेखि नियमित उडान थालिएको हो । सञ्चारमा आएको ४४ वर्ष भइसक्दा पनि विमानस्थलमा आवश्यक पूर्वाधारको निर्माण भने भएको छैन । पूर्वाधार विकाससहित सिमकोट विमानस्थल स्तरोन्नतिको पर्खाइमा छ । नियमित सञ्चालनमा आइसकेपछि २०६८ सालमा पहिलो पटक विमानस्थलको स्तरोन्नति गरिएको थियो । हिउँ परेको समयमा उडान अवरुद्ध हुन थालेपछि बाह्रै महिना सञ्चालनका लागि योग्य बनाउन स्तरोन्नति गरिएको हो । त्यसयता विमानस्थल नियमित रूपमा सञ्चालन भइरहेको छ । यद्यपि, अझै पनि थप स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको छ । यात्रुको चाप हुने विमानस्थलमा भौतिक संरचना जीर्ण अवस्थामा छन् । टर्मिनल टावरसमेत जीर्ण अवस्थामा रहेको छ । हेलिकोप्टर पार्किङका लागि पनि पर्याप्त ठाउँ छैन । हेलिकोप्टरको संख्या वृद्धि हुँदा खाली जग्गामा पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । जहाज पार्किङ गर्ने ठाउँ आधा भासिएको छ । अन्य संरचना पनि जीर्ण अवस्थामा छन् । हाल सञ्चालनमा रहेको एप्रोनमा नियमानुसार तीन वटा जहाजलाई पार्किङ गर्नु पर्नेमा पाँच वटासम्म जहाज पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । त्यो सँगै अर्को हेलिकोप्टरको एप्रोनमा दशदेखि बाह्र वटा हेलिकोप्टर पार्किङ हुनेगरेको छ ।
ढिलै भएपनि स्तरोन्नतिका लागि काम अघि बढेको छ । विमानस्थलमा नयाँ एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जहाज राख्ने ठाउँको रूपमा नयाँ एप्रोन निर्माण गर्न लागिएको हो । नागरिक उड्डयान प्राधिकरणको १५ करोड लगानीमा २०७५ सालदेखि नयाँ एप्रोन निर्माणको काम थालिएको हो । चार वटा जहाज राख्न मिल्नेगरी एप्रोन निर्माण गरिएको हो । नयाँ एप्रोन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । आउँदो असार मसान्तसम्म सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सिमकोट विमानस्थलमा यात्रुको चाप बढेकाले स्तरोन्नतिका योजनाहरू अघि सारिएको हो । पर्यटकीय दृष्टिले पनि सम्भावना बोकेको हुम्लामा स्तरीय विमानस्थल सञ्चालन गर्नुका साथसाथै सडक सञ्जालको विस्तारलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः ३२ जेष्ठ २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।