मसिनेचौर विमानस्थल: निर्माण सकिँदा पनि सञ्चालनमा बेवास्ता

सुर्खेत: निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।

निर्माण सम्पन्न भएको वर्षौसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन् । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ का स्थानीय विष्णुलाल केसीले विमानस्थल बनेपनि हवाई सेवाबाट वञ्चित हुनुपरेको बताए । उनले भने, ‘घरआगनमा विमानस्थल बनेको छ । सञ्चालनमा छैन । हवाई सेवा लिन एकदिनको पैदल यात्रा गरेर जुफाल विमानस्थल जानुपर्ने बाध्यता छ ।’

जिल्लामै जुफाल विमानस्थल भएपनि सेवा लिन सहज नभएको केसीले जनाए । भनेको समयमा टिकट नपाउने र एक दिनको पैलदयात्रा गरेर मात्र जुफाल विमानस्थल पुग्नुपर्ने बाध्यता रहेको उनले जनाए । सम्बन्धित निकायको ध्यान नजाँदा विमानस्थलको परीक्षण उडानसमेत हुन नसकेको स्थानीयहरू बताउँछन् । परीक्षण गरेर नियमित उडान गर्न स्थानीयको माग छ । घरआगनमै विमानस्थल बनेपनि कष्टपूर्ण यात्रा गर्नुपरिरहेको उनीहरूको भनाइ छ ।

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का स्थानीय टिकादत्त न्यौपानले विमानस्थल नियमित सञ्चालन गर्न माग गरिएको बताए । उनले भने, ‘करोडौँ लगानी गरेर निर्माण गरिएको विमानस्थल प्रयोगविहीन बनेको छ । नागरिकले दैनिक सास्ती खेप्नुपरिरहेको छ ।’ विमानस्थल बनेको वर्षौ भइसक्दा पनि परीक्षण उडानसमेत नगर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपन भएको उनले बताए । सडक मार्गको सहज पहुँच नभएकाले विमानस्थल अपरिहार्य भएको न्यौपनोको भनाइ छ ।

पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ । यद्यपि, सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधिहरू बताउँछन् । विमानस्थलको परीक्षण तथा नियमित उडानका लागि पहल भइरहेको डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य बीरबहादुर शाही बताउँछन् । पर्यटनमन्त्री सुदन किरातीसँग विमानस्थलको परीक्षण उडान र नियमित उडानका विषयमा वार्ता सकारात्मक भएको उनी बताउँछन् । उनले भने, ‘अब जुफाल विमानस्थलको स्तरोनन्ति गर्न लागिएको छ । मसिनेचौर विमानस्थल छिट्टै सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’ प्राविधिक र पूर्वाधार निर्माणका हिसाबले विमानस्थल सञ्चालन गर्न पूर्णरूपपमा योग्य छ । तर, हालसम्म परीक्षण उडानसमेत भएको छैन ।

स्तरोन्नतिको पर्खाइमा जुफाल

डोल्पास्थित अर्को जुफाल विमानस्थल भने नियमित सञ्चालन भइरहेको छ । २०३२ सालदेखि निर्माण थालिएको विमानस्थल २०७० मा कालोपत्रे गरिएको थियो । त्यसयता विमानस्थल नियमित सञ्चालन भइरहेको छ ।

पाँच सय ७० मिटर धावनमार्ग रहेको विमानस्थलमा चार वटा जहाजले उडान गर्दै आइरहेको विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनले भने, ‘नियमित रूपमा विमानस्थल सञ्चालनमा छ । दिनमा तीन/चार वटा विमानले आवतजावत गर्ने गरेका छन् ।’

यद्यपि, यो विमानस्थल पनि स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । विमानस्थलको केही भूभाग जमिनमा दबेको छ । दबेको भागलाई मर्मत गर्नुपर्ने देखिएको प्रदेशसभा सदस्य वीरबहादुर शाही बताउँछन् । उनी भन्छन्, ‘मसिनेचौर विमानस्थल सञ्चालन गरेर जुफाल विमानस्थलको स्तरोन्नति गनुपर्ने पहल हामीले गरेका छौँ ।’ जुफाल विमानस्थलबाट डोल्पा–नेपालगञ्ज उडान हुने गरेको छ ।

प्रकाशित मितिः   ३२ जेष्ठ २०८०, बिहीबार ०५:०५