‘समृद्धिको युग सुरु भएको छ’
सुर्खेत: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई विकास र समृद्धिको नयाँ गतिमा अघि बढाउन प्रतिबद्ध रहेको जनाएका छन् । बुधवार दैलेख आइपुगेका दाहालले देशमा समृद्धिको युगको सुरुवात भइसकेको जनाए । १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताए ।
उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको समेत जनाए । दाहालले भने, ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस त्यो गर्न सकिएन । दोस्रो पटक प्रधानमन्त्री हुँदा महŒवपूर्ण काम गर्न सकेँ । अहिले तेस्रो पटक आर्थिक संकटको बेला प्रधानमन्त्री भएँ तै पनि आर्थिक संकटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ संकल्प सहित अघि बढेको छु ।’
मन्त्रिपरिषद्को पहिलो बैठक देखिनै आर्थिक संकट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाइ छ । उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गरे । ‘मान्छेलाई विश्वास लाग्न सक्छ नलाग्न सक्छ, कुनै दिन मान्छेले प्रचण्डको बेलामा अर्थतन्त्रमा राम्रो काम भएको रहेछ भन्ने छन्, कुनै दिन,’ उनले भने, ‘गर्वका साथ दाशुको प्रतिमा अगाडि प्रतिबद्धता गर्दछु, राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छे प्रण गर्दछु ।’ प्रचण्ड आफ्नो दाहालहरूको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन् । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रूपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ ।
यो प्रतिमा २५ जेठमा काठमाडौंबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याइएको थियो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।
प्रकाशित मितिः ३२ जेष्ठ २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।