विमानस्थल स्तरोन्नति
जुम्ला विमानस्थलमा यात्रुको चाप बढ्दो छ । हाल सञ्चालनमा रहेको विमानस्थल भने साँघुरो छ । दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा दुई वटासम्म उडान हुनेगरेका छन् । यात्रुको चाप भने धेरै नै छ । साना जहाज मात्रै अवतरण हुन सक्दछन् । अहिले १८ र १९ सिटे जहाज अवतरण हुने गरेका छन् । सीता, तारा, समिट र नेपाल एयरलाइन्सका साना जहाज सञ्चालनमा छन् । नेपाल र तारा एयरलाइन्सका १९ सिटे ट्वीनेटर जहाज छन भने सीता र समिटका १८ सिटे साना जहाज रहेका छन् । कम्तीमा पनि ४२ सिटे जहाज सञ्चालन हुनसक्ने गरी विमानस्थलको विस्तार गर्नुपर्ने माग विगतदेखिकै हो । तर अहिलेसम्म विमानस्थलको स्तरोन्नति हुन सकेको छैन । स्तरोन्नतिका लागि पाँच वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो । तर विमानस्थल विस्तारको काम अघि बढ्न सकेन ।
विमानस्थल स्तरोन्नतिको काम अबभने अघि बढ्ने संकेत देखिएको छ । नेपाल सरकारको जेठ २ गतेको मन्त्रीपरिषद बैठकले जुम्ला विमानस्थल विस्तार गर्ने निर्णय गरेको छ । संघिय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत जुम्ला विमानस्थल विस्तार गर्ने योजना अघि सारेको थियो । सोही बमोजिम जेठ २ गतेको मन्त्रीपरिषद् बैठकले विमानस्थलको काम अघि बढाउने निर्णय गरेको हो । विमानस्थल विस्तारका लागि सर्भेलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको छ । हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७० मिटर छ । जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हुदै आएका छन् । विस्तारित विमानस्थलको धावनमार्ग एक हजार ५० मिटरसम्म विस्तार गरिने छ । विमानस्थल विस्तारका लागि १८३.०५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । तर अहिलेसम्म बजेटको टुँगो भने लागेको छैन । जग्गाको मुआब्जाका लागि मात्र ४४ करोड बजेट अनुमान गरिएको छ । स्तरोन्नति गर्दा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको योजनाअनुसार सुविधायुक्त भवन निर्माण गरिने छ ।
विमानस्थलमा बन्ने अधिकांश संरचना नयाँ निर्माण हुनेछन् । टावर, टर्मिनल भवन, सुरक्षागाड भवन लगायतका सम्पूर्ण नयाँ संरचना निर्माण हुनेछन् । हाल सञ्चालन भइरहेको विमानस्थलको उत्तरपट्टी विमानस्थल विस्तार गर्ने तयारी छ । विगतमा पनि पटक–पटक विमानस्थल विस्तारको योजना बनाउने गरिएपनि काम हुन सकेको थिएन । यसपटक सरकारले यस कुरालाई ध्यान दिनुपर्छ । विमानस्थल विस्तार सरकारको प्राथमिकता हो भने समयमै बजेटको टुँगो गरेर जग्गा अधिग्रहणलगायतका काम अघि बढाइहाल्नुपर्ने देखिन्छ ।
प्रकाशित मितिः ३० जेष्ठ २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।