रारा विमानस्थल: पूर्वाधार निर्माणमा ढिलाइ
सुर्खेत: मुगुको रारा विमानस्थलमा आवश्यक पूर्वाधार नै निर्माण गरिएको छैन । काठको टहरोमा उपकरण जडान गरेर टर्मिनल टावर बनाइएको छ । जीर्ण अवस्थामा रहेको टर्मिनल टावरकै भरमा एक दशकभन्दा लामो समयदेखि विमानस्थल सञ्चालन गरिएको छ ।
टर्मिनल टावर मात्रै होइन अन्य पूर्वाधारमा समेत सुधार भएको छैन । विमानस्थलमा घेरवार गरिएको छैन । घेराबार नहुँदा पशुचौपाया विमानस्थलमै पस्ने गरेका छन् । पशुचौपाया धपाएर जहाज अवतरण गराउने गरिएको विमानस्थल प्रमुख रोमन भट्टराईले जानकारी दिए । विमानस्थलसम्म पुग्ने सडकको समस्या समस्या छ । ‘नागरिकलाई विमानस्थलसम्म पुग्नका लागि सहज बाटोको निर्माण हुन सकेको छैन’ उनले भने, ‘बाटो नहुँदा धावनमार्गबाटै ओहोर–दोहोर गर्नुपरिरहेको छ ।’
सुरक्षा जाँच कक्ष पनि काठको टहरोमा बनाइएको छ । यात्रुहरूको सामान चेकजाँचदेखि, तौल लिने र ट्याग लगाउने काम त्यहीँ टहरामा हुन्छ । यात्रु बस्नका लागि पनि व्यवस्थित संरचना बनाइएको छैन । काठको सामान्य बेन्चमा घण्टौँसम्म बस्नुपर्ने बाध्यता छ । विमानस्थलमा जहाज पर्खन यात्रु आरामकक्ष नहुँदा ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका तथा असहाय यात्रुहरूलाई समस्या हुने गरेको छ । वर्षातको समयमा ओत लाग्ने र घाममा छहारी बस्ने ठाउँसम्म नहुँदा समस्या हुने गरेको छायाँनाथ रारा नगरपालिका वडा नं. १ का स्थानीय हरि ऐडीले बताए ।
पूर्वाधार अभावकैबीच पनि डेढ दशकदेखि विमानस्थल सञ्चालनमा छ । २०३६ सालबाट विमानस्थल निर्माणको काम थालिएको थियो । २०५५ सालमा विमानस्थल निर्माण सम्पन्न भयो । त्यसको पाँच वर्षपछि मात्रै परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएपछि २०६३ देखि नेपाल एयरलाइन्सले उडान भर्न सुरु गरेको हो । तर रारा आउने पर्यटकलाई लक्षित गरी बनाइएको विमानस्थलको अवस्था फेरिन सकेको छैन ।
पूर्वाधार निर्माणको काम अधुँरो हुँदा पटक–पटक जहाज अवतरणमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम बढिरहेको छ । विशेष गरेर टर्मिनल टावर र कन्ट्रोल भवन निर्माणमा ढिलाइ हुँदा काम गर्न समस्या भएको विमानस्थल प्रमुख भट्टराईले बताए ।
टर्मिनल टावर र कन्ट्रोल भवन बनाउन बजेट विनियोजन गरिए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । तीनतले टर्मिनल टावर र एकतले कन्ट्रोल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७६ सालमै दश करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । भवन निर्माणकै काममा ढिलाइ हुँदा अरू पूर्वाधार निर्माणमा पनि समस्या भएको प्रमुख भट्टराईले जनाए । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ओमबुद्ध कन्ट्रक्सन प्रालिले सम्झौता गरेको छ । कामको गति हेर्दा अझै ५÷६ महिना लाग्ने देखिएको प्रमुख भट्टराई बताउँछन् ।
२०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रे भएपनि टर्मिनल टावर र कन्ट्रोल भवन निर्माणमा ढिलाइ हुँदा काम गर्न समस्या भएको छ । उनले भने, ‘अहिले काठको टहरोमा टर्मिनल टावर बनाएर जहाज अवतरण र उडानको काम भइरहेको छ । एकतले टहरोमा सुरक्षाकर्मीलाई राखेर यात्रुको मालसामान जाँच गर्दै आएका छौँ । पूर्वाधार नहुँदा रारा घुम्न आउने यात्रुले पनि ठूलो सास्ती भोग्नुपरिरहेको छ ।’
भरपर्दो र सुरक्षित उडान नहुँदा मुगुको रारा विमानस्थल यात्रुको रोजाईमा पर्न छाडेको छ । रारा हेर्न जाने पर्यटक जहाज भन्दा सडकमार्गबाट त्यहाँ पुग्ने गरेका छन् । जहाजले समेत यात्रु पाउन छाडेका छन् । अहिले नेपालगञ्जदेखि रारासम्मको उडान भइरहेको छ । पर्याप्त यात्रु नहुँदा उडान नै रोक्नुपर्ने बाध्यता हुने गरेको प्रमुख भट्टराई बताउँछन् । उनले भने, ‘चार वटा जहाजले सेवा दिइरहेका छन् । यात्र नहुँदा कहिले त उडान नै हुँदैन । भौतिक संरचनासँगै यात्रु अभाव हुन थालेको छ ।’
प्रकाशित मितिः ३० जेष्ठ २०८०, मंगलवार ०५:०५
रजनी याेगी ।