विमानस्थलको चर्चा
सल्यानमा विमानस्थल निर्माणको चर्चा चल्न थालेको लामै समय भइसकेको छ । थुप्रैपटक अध्ययन पनि भएका छन् । तर हालसम्म विमानस्थल निर्माणको योजना अघि बढ्न भने सकेको छैन । निर्माण हुने वा नहुने विषयमा पनि टुँगो लागेको देखिँदैन । पटक–पटक विभिन्न स्थानमा पूर्वसम्भाव्यता अध्ययन गरिए पनि विमानस्थल योजना भने अध्ययनमै सीमित भएका छन् ।
विमानस्थल निर्माण गर्ने योजनासहित सल्यानको छत्रेश्वरी गाउँपालिकाले २०७५ सालमा पूर्वसम्भाव्यता अध्ययन गरायो । उक्त अध्ययनपश्चात् ८१ करोड लागतमा विमानस्थल निर्माण गर्न सकिने प्रतिवेदनसमेत सार्वजनिक भयो । प्रतिवेदनअनुसार सल्यानसहित रोल्पाका करिब तीन लाख ३० हजार जनसंख्यालाई लक्षित गरेर १९ सीट क्षमताको ट्वीनेटर विमान अवतरण गराउन सक्ने सम्भावना देखाइएको थियो । तर उक्त योजना अघि बढ्न भने सकेन, पूर्वसम्भाव्यता अध्ययनमै सीमित हुनपुग्यो । यस्तै सल्यानकै कालिमाटी गाउँपालिकाको वडा नं. १ कोटबयामा समेत विमानस्थल बन्ने चर्चा चलेको थियो । उक्त स्थानमा बन्ने भनिएको विमानस्थलको योजना पनि अलपत्र परेको छ । छत्रेश्वरी र कालिमाटीमा मात्रै होइन सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक–पटक चर्चा र अध्ययन हुने गरेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमास्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो । वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पहलमा विमानस्थलका लागि अध्ययन गरिएको थियो । शारदा नगरपालिकाको वडा नं. २ को चन्द्रपाला, वडा नं. ५ को पीपलनेटा र कालिमाटी गाउँपालिकाको वडा नं. १ को कोटबयालेमा सम्भाव्यता अध्ययन गरिएको हो । त्यतिबेला गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छैन । सल्यानमा विभिन्न चरणमा धेरै पटक अध्ययन भएपनि कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर प्रतिवेदन सार्वजनिक नभएपछि नागरिकसमेत निराश बनेका छन् ।
विगत केही दशक अघिदेखि नै सल्यानमा विमानस्थलको अवधारणा अघि सारे पनि हालसम्म पनि विमानस्थल बन्ने टुँगो भने लागेको छैन । पटक–पटक सम्भाव्यता अध्ययन गरे पनि योजना भने अघि बढ्न सकेको छैन विमानस्थल बन्न नसक्नुका कुनै निश्चित कारण नै नदेखाइ बारम्बार झारा टार्ने काम मात्र भइरहेको स्थानीयको गुनासो छ । जिल्लामा यातायातको छिटो र छरितो हवाइ सेवाको सञ्चालन हुन नसक्दा पर्यटकीय स्थल कोट भगवती, खैराबाङ भगवती, छाँयाक्षेत्र शक्तिपिठ, फालाबाङ दरबार, कुपिण्डे दहलगायतका स्थलमा पर्यटकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । सल्यानवासीले जिल्लाको समग्र विकासका लागि विमानस्थल बनाउन दलहरूलाई दबाब दिँदै आएका छन् ।
प्रकाशित मितिः २९ जेष्ठ २०८०, सोमबार ०५:०३
सम्पादकीय ।