सल्यानमा विमानस्थल: सम्भाव्यता अध्ययनमै सीमित योजना
सुर्खेत: विमानस्थल निर्माण गर्ने योजनासहित सल्यानको छत्रेश्वरी गाउँपालिकाले २०७५ सालमा पूर्वसम्भाव्यता अध्ययन गरायो । उक्त अध्ययनपश्चात् ८१ करोड लागतमा विमानस्थल निर्माण गर्न सकिने प्रतिवेदनसमेत सार्वजनिक भयो । प्रतिवेदनअनुसार सल्यानसहित रोल्पाका करिब तीन लाख ३० हजार जनसंख्यालाई लक्षित गरेर १९ सीट क्षमताको ट्वीनेटर विमान अवतरण गराउन सक्ने सम्भावना देखाइएको थियो । तर उक्त योजना अघि बढ्न भने सकेन, पूर्वसम्भाव्यता अध्ययनमै सीमित हुनपुग्यो ।
गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल निर्माण गर्ने योजनाका कामकागजमै थन्किएको गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । उनका अनुसार अघिल्लो कार्यकालमा सम्भाव्यता अध्ययन भएपनि बाँकी काम अघि बढेको छैन । गाउँपालिका आफैले विमानस्थल निर्माणको काम गर्न नसकिने भएपछि योजना सामसुम भएको हो । अहिले पनि पालिकासँग विमानस्थल निर्माणको कुनैपनि योजना छैन । अध्यक्ष बुढाथोकी भन्छन्, ‘संघीय र प्रदेश सरकारले योजना ल्याए हामी स्वागत गर्न तयार छौँ । तर आफैले विमानस्थल निर्माण गर्ने कुनै स्रोत छैन ।’
यस्तै सल्यानकै कालिमाटी गाउँपालिकाको वडा नं. १ कोटबयामा समेत विमानस्थल बन्ने चर्चा चलेको थियो । उक्त स्थानमा बन्ने भनिएको विमानस्थलको योजना पनि अलपत्र परेको छ । पर्यटकीय हिसाबले सल्यानलाई चिनाउन छिटो आवतजवातका लागि विमानस्थल आवश्यक भएपनि विमानस्थल निर्माणबारे कुनै निर्णय नभएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए । जिल्लाकै कुन स्थानमा बन्ने भन्ने विषय अन्यौलमा रहेको भन्दै उनले विमानस्थल निर्माणको टुँगोसमेत नलागेको बताए ।
छत्रेश्वरी र कालिमाटीमा मात्रै होइन सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक–पटक चर्चा र अध्ययन हुने गरेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमास्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो । वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पहलमा विमानस्थलका लागि अध्ययन गरिएको थियो । शारदा नगरपालिकाको वडा नं. २ को चन्द्रपाला, वडा नं. ५ को पीपलनेटा र कालिमाटी गाउँपालिकाको वडा नं. १ को कोटबयालेमा सम्भाव्यता अध्ययन गरिएको हो । त्यतिबेला गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छैन । सल्यानमा विभिन्न चरणमा धेरै पटक अध्ययन भएपनि कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर प्रतिवेदन सार्वजनिक नभएपछि नागरिकसमेत निराश बनेका छन् ।
सल्यानबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले विमानस्थल निर्माणको काम अघि बढाउन विभिन्न क्षेत्रसँग पहल गरिरहेको बताए । उनले भने, ‘विभिन्न चरणमा सम्भाव्यता अध्ययनका काम पनि भए । तर यो ठाउँमा उपयुक्त छ भनेर कुनै प्रतिवेदन सार्वजनिक नहुँदा अन्योलता सिर्जना भयो ।’ नागरिकको चाहना र आवश्यकताका आधारमा विभिन्न चरणमा सम्भाव्यता अध्ययन गरिएको उनले बताए ।
विगत केही दशक अघिदेखि नै सल्यानमा विमानस्थलको अवधारणा अघि सारे पनि हालसम्म पनि विमानस्थल बन्ने टुँगो भने लागेको छैन । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत यो पटक सल्यानले पाएको छ । कुनैबेला निकै चर्चामा रहेको विमानस्थल निर्माणको काम भने अहिले सुस्ताएको छ । राजनीतिक दलहरूको हेलचक्य्राइँ एवम् उदासिनताका कारण विमानस्थल बन्न नसकेको स्थानीयवासीको गुनासो छ । पटक–पटक सम्भाव्यता अध्ययन गरे पनि योजना भने अघि बढ्न सकेको छैन विमानस्थल बन्न नसक्नुका कुनै निश्चित कारण नै नदेखाइ बारम्बार झारा टार्ने काम मात्र भइरहेको स्थानीयको गुनासो छ ।
जिल्लामा यातायातको छिटो र छरितो हवाइ सेवाको सञ्चालन हुन नसक्दा पर्यटकीय स्थल कोट भगवती, खैराबाङ भगवती, छाँयाक्षेत्र शक्तिपिठ, फालाबाङ दरबार, कुपिण्डे दहलगायतका स्थलमा पर्यटकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । सल्यानवासीले जिल्लाको समग्र विकासका लागि विमानस्थल बनाउन दलहरूलाई दबाब दिँदै आएका छन् ।
सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जिल्लामा विमानस्थल निर्माणको योजना अघि बढाइने बताएका छन् । उनले भने, ‘विभिन्न चरणमा अध्ययन भएका छन् तर अन्तिम प्रतिवेदन सार्वजनिक भएको छैन । आधिकारिक प्रतिवेदन बमोजिम यो काम सुरु हुन्छ ।’
प्रकाशित मितिः २८ जेष्ठ २०८०, आईतवार ०५:०५
साझा बिसौनी ।