‘पहिलो वर्ष उपलब्धिमूलक भयो’
अघिल्लो कार्यकालमा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख रहेकी मोहनमाया ढकाल यसपटक प्रमुख छिन् । उपप्रमुखको रूपमा मात्रै होइन लामो समय कार्यवाहक प्रमुखको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि उनीसँग छ । त्यसैले वीरेन्द्रनगरको कार्यसम्पादन र सेवा प्रवाहमा नागरिकको अपेक्षा पनि बढी छ । नागरिकका आम अपेक्षाकाबीच ढकालले पाँच वर्षे कार्यकालको पहिलो एक वर्ष बिताइसकेकी छिन् । यो एक वर्षे कार्यकाल कस्तो रह्यो ? नगरपालिकाले के कस्ता उपलब्धि हासिल गरेको छ र आगामी दिनका योजना के छन् ? यिनै सन्दर्भमा रहेर सहकर्मी रजनी योगीले ढकालसँग गरेको संवादः
- नगर प्रमुखको रूपमा एक वर्ष बिताउनुभयो, कस्तो रह्यो यो अवधि ? तपाईंकै मूल्यांकनमा कति सन्तोषजनक रह्यो ?
मैले नगरप्रमुखमा मेरो उम्मेदवारी दिनेबेला दुई वटा पक्षमा जोड दिएको थिएँ । पूर्वाधार विकास र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको थिएँ । नगरमा उत्पन्न खानेपानीको समस्या समाधान गर्ने योजना सुनाएको थिएँ । अव्यवस्थित बसोबास तथा सुकुमबासीको समस्या समाधान हुने विश्वास दिलाएको थिएँ । चक्रपथ निर्माण गर्ने कुरा मेरो प्राथमिकतामा थियो । सम्पन्न हुन नसकेका अरु ठूला योजनालाई सम्पन्न गर्ने कुरा अठोटका रूपमा लिएको थिएँ । त्यसमा काम भइरहेको छ । त्यसैगरी भू–उपयोग नीति बनाएर नगरलाई नीतिगत रूपमा यहाँको व्यवस्थापन गर्ने योजना रहेको छ । यहाँको पर्यटकीय स्थल घण्टाघर, काँक्रेबिहार, बुलबुलेलाई पनि व्यवस्थित गरेका छौँ । जस्तै १६÷१७ वर्षसम्म नचलेको घण्टाघरको घडी चलेको छ । वीरेन्द्रनगरमा पार्क व्यवस्थानका काम हामीले अगाडी बढाएका छौँ ।
समग्रतामा वीरेन्द्रनगरमा पूर्वाधारका कुराहरूलाई जोड दिएका थियौँ । त्यसैगरी शैक्षिक गतिविधिलाई पनि हामीले प्राथमिकतामा राखेका थियौँ । नगरको दश वर्षे शैक्षिक रणनीति र योजना तयार पारेका छौँ, आफ्नै पाठ्यक्रम लागू गरेका छौँ । स्वास्थ्य क्षेत्रमा एउटा आमुल परिवर्तन गर्ने उद्देश्यले प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी व्यवस्थित बनाइएको छ । नगर अस्पताल सञ्चालन भएको छ । महिला तथा बालबालिकाको लागि विशेषज्ञ सेवासहित सुविधा दिने योजनासहित पाँच शैड्ढयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुर्याएको छौँ । स्थानीय सरकारले दिनुपर्ने सबैसेवालाई एउटै भवनबाट एकीकृत मोडलमा दिनुपर्छ भनेर प्रशासनीक भवन निर्माणको काम प्रारम्भ गरेका छौँ । यसरी हेर्दा पहिलो एक वर्ष उपलब्धिमूलक नै छ ।
- उपप्रमुखको अनुभवपछि प्रमुख हुनुभयो, आम नागरिकको अपेक्षा पनि तपाईंप्रति धेरै नै थियो, अपेक्षा गरेअनुसार नतिजा देख्न पाइएन भनेको पनि सुनिन्छ नि ?
आफ्नै घरदैलोको सरकारबाट धेरै अपेक्षा राख्नु स्वभाविक पनि हो । तर, सबै समस्या स्थानीय सरकारबाट समाधान हुन्छ भन्ने नागरिकको बुझाइ पनि छ । तीन तहका सरकार छन् । तीन तहका सरकारका आ–आफ्नै जिम्मेवारीहरू छन् । हामी जवाफदेही हुने भनेको आफ्नै जिम्मेवारीमा हो । तर त्यति हुँदाहुँदै पनि हामीले सबैसँग समन्वय गरेर सरकारले गरेका कामहरूलाई पनि सहजीकरण गर्ने र त्यसलाई निकास दिनेगरी अगाडी बढेका छौँ । सुरुवातको एकवर्षे कार्यकाल सन्तोषजनक ठानेका छौँ । वित्तीय सुशासन, कार्यालय व्यवस्थापन, पूर्वाधार निर्माणदेखि लिएर सामाजिक न्यायका क्षेत्रलाई संस्थागत रूपमा अगाडी बढायौँ । स्थानीय सरकारको जिम्मेवारी, दक्षता, जवाफदेहितापूर्वक निर्वाह भएका छन् की छैनन् भन्ने कुरा पनि नागरिकले बुझ्नुपर्छ । तीन तहका सरकारका सबै काम स्थानीय सरकारले मात्र गर्नुपर्छ भन्ने बुझाई राख्नुहुँदैन । स्थानीय सरकारले पाएको जिम्मेवारी अनुसार हामी सही ठाउँमा छौँ ।
- आम नागरिकले भौतिक पूर्वाधारको विकासलाई हेरेर मूल्यांकन गर्ने गर्दछन्, पूर्वाधार विकासबाहेक पनि नगरपालिकाले गरेका सुधार केही छन् ?
पूर्वाधार विकास बाहेक पनि नगरपालिकाले वातावरणीय अनुकुलन कायम गर्नका लागि जलवायु अनुकुलनमा धेरै काम गरेको छ । विपद् व्यवस्थापनमा वीरेन्द्रनगरलाई अब्बल नगरपालिकाको रूपमा स्थापित गर्न सफल भएका छौँ । विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीका सामग्री प्रर्याप्त रूपमा राखिएको छ । जस्तै दमकल र दक्ष तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा छन् ।
यस्तै गरेर महिला तथा बालबालिकाको लागि पुनस्र्थापना केन्द्र निर्माण, निःशुल्क सेनेटरी प्याड वितरण, गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूलाई निःशुल्क भिडियो एक्सरे, आमा सुरक्षा कार्यक्रम लागू गरेका छौँ । ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा केन्द्रहरू, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान चलाएका छौँ । समग्रतामा सामाजिक न्यायको पक्ष नगरपालिकाको प्राथमिकतामा रहेको छ ।
- प्रदेश राजधानीको नगरपालिका, अरु पालिकाकोभन्दा बजेट पनि धेरै हुन्छ, सुगम ठाउँ पनि छ, तर यति हुँदाहुँदै पनि नगर प्रमुखको रूपमा तपाईंले भोगेका चुनौती के रहे ?
धेरै चुनौतीहरू छन् । प्रदेशको राजधानी हो । दिनप्रतिदिन जनसंख्या बढ्दो क्रममा छ । २०७८ को जनगणना अनुसार नगरपालिकाको जनसंख्या एक लाख ५४ हजार हो । तर, नगरपालिकाले सेवा भने करिब चार लाख जनसंख्यालाई दिनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइका विषयमा ठूलो जनसंख्यालाई सेवा दिनु चुनौतीको विषय हो । नेपाल सरकारबाट प्राप्त हुने अनुदान जनसंख्याको आधारमा हुन्छ । त्यसमा पनि अहिले ५० प्रतिशत बजेट कटौती भएर आएको छ । त्यो हाम्रो चुनौतीको विषय छ भने नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गरेर विकास गर्नुपर्छ भन्ने हिसाबले हामी आफै आत्मनिर्भर बन्नेगरी लागिपरेका छौँ ।
- प्रदेश सरकारसँगको सम्बन्ध र समन्वय कस्तो छ ?
प्रदेश सरकारसँगको समन्वय नराम्रो छैन । सहकार्य समन्वय सबै हुन्छ तर, बजेट नीति कार्यक्रम बनाउँदा प्रदेश राजधानीलाई एउटा केन्द्रमा राखेर बजेट बनाएको हामीले देखेका छैनौँ । यस हिसाबमा चाही स्थानीय पालिकाको आवश्यकता र सिफारिसमा भन्दा पनि व्यक्तिगत चिनजानको आधारमा अथवा तत्काल आवश्यक नपर्ने ठाउँमा पनि बजेट लगानी भएको देखिन्छ भने प्रदेश राजधानी बनाउनका लागि यहाँको सरकारले ध्यान नदिएको हामीले पाएका छौँ ।
- तपाईंले परिकल्पना गरेको वीरेन्द्रनगर कस्तो हो ? बाँकी रहेको चार वर्षमा कस्तो हुनेछ ?
परिकल्पना गरिएको वीरेन्द्रनगर भनेको व्यवस्थित नगर हो । यहाँको सुशासन अत्यन्त अब्बल हुनुपर्छ, हरेक कुरा नियमसंगत हुनुपर्छ । स्थानीय तह भनेको सेवा प्रवाह गर्ने निकाय हो । कुनै पनि नागरिकले सेवा पाउन झन्झटिलो भयो भनेको महशुस हुनुहँुदैन । झन्झट विना सेवा प्रवाह गर्ने र नागरिकलाई केन्द्रविन्दुमा राखेर काम गर्ने, वित्तीय सुशासन कायम गर्ने, पूर्वाधारको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकालाई योजनाबद्ध रूपमा अगाडी बढाउने र वातावरणीय हिसाबले स्वच्छ, सफा, सुन्दर सुशासनयुक्त नगरपालिका बनाउने परिकल्पना गरिएको हो । नगरपालिकालाई गुरुयोजना अनुसार व्यवस्थित बनाउन लागि परेका छौँ, भूउपयोग नीतिअनुसार यहाँको सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलाई हामीले पूर्णरूपमा लागू भएको नगरपालिका बनाउनेछौँ ।
प्रकाशित मितिः २९ जेष्ठ २०८०, सोमबार ०५:०४
रजनी याेगी ।